काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले कांग्रेस यथास्थितिमा निर्वाचनमा नजाने बताएका हुन्।
‘लोकतन्त्रको चीरहरण हुँदा कांग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भनेका छन्। पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन्।
पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्ने समेत बताएका छन्। ‘जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ,’ उनले भनेका छन्।
कांग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधिसभा दुवै स्वीकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छ। प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए। ओलीको कदम असंवैधानिक भन्दै कांग्रेस सडकमा ओर्लिएको छ।