काठमाडौं- नेकपाको दाहाल–नेपाल समूहले बैशाखमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारीमा नलाग्ने प्रष्ट पारेको छ।
निर्वाचनका विषयमा आयोगले दलहरुसँग गरेको छलफल कार्यक्रममा आज दाहाल–नेपाल समूहले यस्तो बताएको हो।
‘हामी निर्वाचनको तयारीमा लाग्दैनौँ किनकी हामी सर्वोच्च अदालतमा बहसमा छौं। निर्वाचन आयोगले आउनु भनेर बोलाएकाले हामी सहभागी भएका हौँ,’ नेकपा नेता राजेन्द्र पाण्डेले छलफलपछि भने, ‘आफ्ना कुरा भन्नका लागि पनि आउनुपर्यो।’
सरकारले तोकेको भनेको समयमा निर्वाचन नहुने भन्दै उनले निर्वाचन आयोगले नै निर्वाचन गराउन नसक्ने बताए।
‘हामीले आयोगका पदाधिकारीहरुलाई तपाईहरु निर्वाचन गराउन सक्नुहुन्न। निष्पक्ष हुनुहुन्न भन्यौं,’ उनले भने, ‘निष्पक्ष गर्ने भए त आयोगको कानुन शाखाको सहसचिवको सरुवा हुँदा पनि आपत्ति गर्न सक्नुभएन।’
उता नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले संसद पुनस्र्थापना भए त्यसलाई आफूहरुले स्वीकार्ने बताए।
‘अहिले संसद छैन, देशलाई अन्योलमा पुर्याउन हुन्न निर्वाचन भयो भने त नेपाली कांग्रेस तयार छ,’ उनले भने, ‘अदालतले पुनस्र्थापना गरेन भने त हामीले तयारी गर्नु पर्यो नि।’