चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन्।
कांग्रेस चितवन क्षेत्र २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौं पुण्यतिथिका दिन आज आयोजित श्रद्धाञ्जलीसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने बताएका हुन्।
उनले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उनीजस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको बताए।
सभामा कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले राजनीतिबाट लाभ गर्न सक्छु भन्दा पनि राजनीतिबाट समाजमा केही गर्न सक्छु भनेर लाग्नु आवश्यक रहेको बताए।
२००१ फागुन २५ गते लमजुङको दुराडाडाँमा जन्मिएका तिमिल्सिनाको २०७७ पुस २७ गते चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनी कोरोना सङ्क्रमित थिए। रासस