आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा एकै दिन झन्डै दुई लाखले लगाए कोरोनाको खोप, केहीलाई सामान्य साइड इफेक्ट

भारतमा एकै दिन झन्डै दुई लाखले लगाए कोरोनाको खोप, केहीलाई सामान्य साइड इफेक्ट

खोप लगाएपछि केही मानिसलाई एलर्जीजस्ता सामान्य साइड इफेक्ट देखिएको छ। तर, अस्पताल नै भर्ना गर्नुपर्ने गरी भने कोही बिरामी परेका छैनन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु भएको पहिलो दिन शनिबार झन्डै दुई लाखले खोप लगाएका छन्। 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३३ सय ५१ सेसन भएका छन् भने १ लाख ९१ हजारभन्दा बढीलाई खोप दिइएको छ।

खोप लगाएपछि केही मानिसलाई एलर्जीजस्ता सामान्य साइड इफेक्ट देखिएको छ। तर, अस्पताल नै भर्ना गर्नुपर्ने गरी भने कोही बिरामी परेका छैनन्। साइड इफेक्ट देखिएकाहरुलाई निगरानीमा राखिएको छ।

भारतले प्रयोगमा ल्याउन लागेका खोपहरुमा एस्ट्राजेनिकाले स्थानीय साझेदारी सिरम इन्स्टिच्युटसँग मिलेर तयार पारेको कोभिसिल्ड र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन छन्। यी दुवै खोपलाई चिसो ठाउँमा राख्नुपर्ने हुन्छ। 

भारतमा सुरु भएको खोप अभियानलाई विश्वकै ठूलो अभियान बताइएको छ। आगामी जुलाईसम्ममा करिब ३० करोडलाई खोप दिने योजना भारत सरकारको छ।

भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो। भारतमा भन्दा चीनको जनसंख्या बढी छ। सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै १ अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ। 

खोपका लागि ७०० जिल्लामा करिब १ लाख ५० हजार कर्मचारी परिचालन गरिएको छ। उनीहरुलाई तालिमसमेतका आवश्यक जानकारी दिइएको छ। 

भारतले आपतकालीन प्रयोगका लागि भन्दै पहिलो चरणमा तीन करोड स्वास्थ्यकर्मी तथा ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति तथा स्वास्थ्य जोखिममा रहेका २७ करोडलाई खोप दिने तयारी गरेको छ। 

अधिकारीहरुले पोलियो र अर्बुद रोगसम्बन्धी बालबालिकालाई नियमित खोप दिइरहेकाले कोभिड–१९ विरुद्धको खोप लगाउन त्यति समस्या नहुने बताएका छन्।

राष्ट्रिय खोप इन्स्टिच्युटका सत्यजित राठले बालबालिकालाई खोप लगाउनुभन्दा कोभिड–१९ विरुद्धको खोप लगाउनु निकै जटिल र चुनौतीपूर्ण रहेको बताए।

सरकारले २९ हजार चिस्यान विन्दुहरु, २४० वटा कुलर, ७० वटा फ्रिजर, ४५ हजार रेफ्रिजेरेटर, ४१ हजार डिपफ्रिज र ३०० वटा सोलार रेफ्रिजेरेटरको व्यवस्था गरेको छ। 

भारतमा कोरोना भाइरसको संक्रमणबाट एक लाख ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ। कोरोना महामारीका कारण भारत विश्वमै आर्थिक रुपमा सबैभन्दा बढी प्रभावित भएको छ।  लाखौं मानिसले आफ्नो रोजगारी गुमाएका छन्।

हालै भारतका १८ हजार व्यक्तिमा गरिएको सर्वेक्षणमा झण्डै ६९ प्रतिशतले कोभिड–१९ को खोप लिन आफूहरुलाई हतारो नभएको बताएका थिए। सिरम इन्स्टिच्युटले भारतमा आफूले उत्पादन गरेको खोप व्यक्ति र संस्थालाई पनि बेच्ने गरी अनुमति पाएको छ। सिरमको खोपको मूल्य भारु १००० तोकिएको छ। 

प्रकाशित: Jan 17, 2021| 05:50 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।