काठमाडौं– कोरोनाभाइरस महामारीका कारण विश्वव्यापी आप्रवासन दरमा अघिल्लो वर्षको तुलनामा झण्डै ३० प्रतिशतले कमी आएको संयुक्त राष्ट्रसंघले जानाएको छ।
सन् २०१९ र २०२० बीचमा करिब २० लाख कम व्यक्ति आप्रवासीका रूपमा विदेशीएको राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
२०२० मा लगभग २८ करोड १० लाख मानिस आफ्नो मूल देश बाहिर बसिरहेको तथ्यांकमा उल्लेख छ।
‘अन्तर्राष्ट्रिय आप्रबासन २०२०’ शीर्षकको प्रतिवेदनमा दर्ता गराइएको दुई तिहाई आप्रवासीहरू २० देशहरूमा बसोबास गरिरहेका छन्। सबैभन्दा बढी आप्रबासी रहेको देश संयुक्त राज्य अमेरिकामा सन् २०२० मा कूल पाँच करोड १० लाख अन्तर्राष्ट्रिय आप्रवासीहरू बसोबास गर्दै आएको संयुक्त राष्ट्रसंघको तथ्यांकमा उल्लेख छ।
यसपछि जर्मनीमा एक करोड ६० लाख, साउदी अरबमा एक करोड ३० लाख, रूसमा एक करोड २० लाख र बेलायतमा ९० लाख आप्रबासी रहेका छन्।
सन् २०२० मा देश छोडी अन्य मुलुकमा काम वा बसोबास गर्नेहरूको सूचीमा सबैभन्दा धेरै भारतीय रहेको राष्ट्रसंघले जनाएको छ। सन् २०२० सम्ममा एक करोड ८० लाख भारतीय नागरिकले काम वा बसाई सराईका कारण देश छोडेको तथ्यांकमा उल्लेख छ।
यसबाहेक धेरै आप्रबासनका लागि देश छोड्ने मुलुकहरूमा मेक्सिको, रूस, चीन र सिरिया छन्। राष्ट्रसंघीय प्रतिवेदन अनुसार मेक्सिको र रूसबाट विदेशमा काम, पढाई वा बसाइ सराई गर्दै आएका नागरिकको सङ्ख्या एक करोड ११ लाख छ भने चीनको एक करोड र सिरियाको ८० लाख छ।
सन् २०२० मा सबैभन्दा बढी अर्थात् ८७ प्रतिशत अन्तर्राष्ट्रिय आप्रबासीहरू यूरोपमा रहेका छन्। यूरोपमा एक देशमा जन्मिएका तर अर्को देशमा बसोबास वा काम गर्दै आएका आप्रबासीको सङ्ख्या ७० प्रतिशत छ।