काठमाडौं- ओली पक्षीय नेकपाका नेता एवम् सहरी विकासमन्त्री प्रभु साहले आफ्ना पूर्व अध्यक्ष पुष्पकमल दाहालले माओवादी आन्दोलनलाई आफ्नो स्वार्थका लािग बेच्दै आएको आरोप लगाएका छन्।
नेकपाको प्रदेश २ का अध्यक्षसमेत रहेका साहले दाहालले माओवादी आन्दोलनलाई व्यापारका रूपमा अगाडि बढाएको आरोप लगाए। उनले भने, ‘आफ्नो पद र शक्तिलाई बचाएर राख्न उहाँले आफ्ना कार्यकर्ता सहयोद्धा सबैलाई समाप्त पार्दै पछि राखेर अवहेलना गरेर अगाडि बढ्नु भयो। माओवादी आन्दोलन बेचेर अहिले सकिसक्नु भयो।
कम्युनिस्ट आन्दोलन जोगाउन प्रचण्डमुक्त हुनु जरुरी छ। उहाँको कारणले कम्युनिस्ट आन्दोलन धरापमा परेको हो। पूर्व माओवादी पार्टी केपी शर्मा ओलीसँग छ।’
काठमाडौंमा आयोजित प्रदेश नम्बर १ को ओली पक्षीय कार्यकर्तामा भेलामा बोल्दै साहले दाहालले पहिचान पनि बेचेको आरोप लगाए।
उनले भने, ‘स्थिरताका लागि जनताले बहुमत दिलाएका थिए तर केही नेताहरूको कारणले जनता र नेता कार्यकर्ताको सपना पुरा हुन सकेन। देश अहिले गम्भीर मोडमा छ।’ उनले भने, ‘हिजो पार्टी एकता गर्दा जे सहमति भएको थियो केही नेताहरूको पदको लोभले गर्दा आफ्नै पार्टीका संसदीय दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरियो। असारमा अरु नै कामका लागि गरिएको हस्ताक्षरलाई अविश्वासको प्रस्तावका रूपमा ल्याइयो।’
साहले नेताहरुले अनैतिक कार्य गरिरहेको र त्यसैका कारण अहिलेको अवस्था आएको भन्दै उनले दाहाललगायतका नेताहरुले देश बचाउछु भन्नु गोरुले दुध दिन्छ भन्नु जस्तै भएको बताए।
उनले अगाडि भने, ‘केपी ओलीलाई मधेश विरोधी भन्थे त्यो सबै झुटो रहेछ अहिले अपार समर्थन तराई मधेसमा ओलीको पक्षमा देखिएको छ।’
‘हिजो प्रचण्डले जातिय एजेन्डा ल्याउनुभयो। फेरि दुई प्रदेश भन्न थाल्नुभयो फेरि ३ प्रदेश भन्नुभयो। शान्ति प्रक्रिया र सविधान निर्माणसम्म आउँदा प्रचण्डले मधेसी उत्पीडित जनतालाई धोका दिने काम गर्नुभयो’ पूर्व माओवादीसमेत रहेका साहले भने, ‘अब ओलीको नेतृत्वमा नै समग्र मधेस उत्पीडित र नेपालीको भलो हुने कुरो जनताले बुझिसकेको छन्।’