आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाइए विराटनगरमा लुटिए

फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाइए विराटनगरमा लुटिए

पोखरामा फोटोग्राफी गर्दै आएका बिमल कार्कीलाई फेसन फोटो सुटका लागि भन्दै पोखराबाट बोलाएर विराटनगरमा लुटिएकाे छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

पोखरा- पोखरामा फोटोग्राफी गर्दै आएका बिमल कार्कीलाई पुस २४ मा विराटनगरबाट कसैले फोन गर्‍यो, ‘हामी फेसन सो आयोजना गर्दैछौं, तपाईंले फोटो खिचिदिनुपर्‍यो।’

फोन गर्नेलाई बिमलले फेसन सो कभर गर्नका लागि आवश्यक सुविधा र सर्तबारे सुनाए। फोन गर्ने व्यक्ति ती सबै सर्तमा मञ्जुर भए र, केहीबेरमै इसेवामार्फत् उनको खातामा चार हजार रूपैयाँ पेस्की पनि आयो। 

यति भएपछि के थियो र!  उनले क्याम्रा, लाइट, ब्याट्री, मेमाेरी कार्ड, ड्रोन, रिफ्लेक्टर, माइक, पावर बैंक, ट्रिगर, ल्यापटपलगायत सबै सामान प्याक गरे र २४ गते बेलुकी नै विराटनगरका लागि हानिए। 

२५ गते हुने कार्यक्रमका लागि उनलाई र आयोजक दुवैलाई हतार थियो। 

आयोजकले उनलाई मोरङको बुढीगंगा गाउँपालिका-१ स्थित आरएन होटेल एन्ड लजमा बस्ने प्रबन्ध गरेका थिए। होटेलको ११४ नम्बर कोठामा विमलले भारी बिसाए। 

पोखराबाट पुगेका फोटोग्राफरलाई विशेष खानाको व्यवस्था गरियो, सुनसरीको इटहरीस्थित प्राइम होटलमा। खानाको तयारी हुँदै गर्दा उनलाई त्यहाँ लैजाने आयोजक अचानकै गायब भए। 

केहीबेर कुर्दा समेत आयोजकमध्येका कोही नदेखिएपछि बिमललाई शंंका लाग्यो। खोज्दै जाँदा मोरङमा कहीं कतै फेसन सो कार्यक्रम रहेको पनि पुष्टि भएन।  

उता कथित आयोजक टिमका सदस्य आरएन होटेलमा पुगेर बिमलका सबै सामान उठाएर टाप कसिसकेका रहेछन्। 

आफू लुटिएको थाहा पाएपछि बिमलले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिए। 

प्रहरीका अनुसार ठगी गर्नकै लागि बिमललाई अनुपले पोखराबाट बोलाएको रहस्य खुलेको छ। 

बिमललाई फोन गरेर फोटोग्राफीका लागि बोलाउने व्यक्ति हुन् झापाको अर्जुनधारा नगरपालिका-६, महानन्द चोकका २० वर्षीय अनुप ढकाल। 

फोटोग्राफीको निम्तो दिएर सामान लुटी फरार भएका ढकाल र उनीसँगै रहेका झापाकै सारांश भट्टराईलाई मोरङ प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ। 

फोन नम्बर र अरू गतिविधिका आधारमा माघ १ गते अनुप र सारांशलाई अनुपको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

बिमलका लुटिएका सबै सामान बरामद भइसकेको र उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान थालिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिएका छन्। 

प्रकाशित: Jan 16, 2021| 06:30 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।