आइतबार, भदौ २१, २०८३

नेताहरू सपना बाँडिरहे, जनता पर्खिरहे

बुटवल दीपनगर र सुख्खानगरका बासिन्दा खानेपानीकै लागि वर्षाैंदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

बुटवल - बुटवलमा खानेपानी आयोजना सुरु भएको २६ वर्ष पूरा भयो। तर, आयोजना भने पूरा भएन।

२०५२ सालमा बुटवलमा खानेपानी ल्याउने गरी पाल्पाको झुम्सा खोलामा ‘इन्टेक’ निर्माण र पाइप बिछ्याउने काम सुरु भएको थियो। तर, झुम्साबाट पानी आएन। बरु नेताहरूले प्रत्येक चुनावमा खानेपानी आयोजनाको सपना भने बाँडिरहे।

मुलुकमा राजनीतिक परिवर्तन भए पनि एउटा आयोजना पूरा गर्न दल र तिनका नेता सधैँ असफल भइरहे। 

नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पटक-पटक यो मुद्दालाई उठाएका थिए। आयोजना पूरा गर्ने वचन दिने मध्येका एक नेता पनि हुन् उनी। 

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, पूर्वखानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाक, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदी, नेपाली कांग्रेसका नेता खेलराज पाण्डे पनि प्रतिबद्धता जनाउने नेतामा पर्छन्। तर, २६ वर्षदेखि उही पुरानै समस्यामा रुमलिन बाध्य छन् बुटवलवासी। 

बुटवल दीपनगर र सुख्खानगरका बासिन्दा खानेपानीकै लागि वर्षाैंदेखि रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन्। सरकारले पाल्पाबाट खानेपानी ल्याएर खुवाउने सपना पूरा नभएपछि समुदाय तहबाट खानेपानीको जोहो गरिएको छ। सरकार आफैंले ल्याउने भनेको खानेपानी आयोजना भने ‘सेकेन्ड मेलम्ची’ बनेको छ। 

तिनाउखोलासहित २० बोरिङबाट बुटवलमा पानी वितरण गरिएको छ। बुटवलमा खानेपानी संस्थानले ६० प्रतिशत पानी तिनाउ खोलाबाट तानेर वितरण गर्दै आएको छ। 

तिनाउबाट दैनिक ७० लाख लिटर र ११ वटा ट्युबबेल (बोरिङ) बाट ८० लाख लिटर गरी खानेपानी आपूर्ति गरिएको संस्थानले जनाएको छ। 

बुटवलको जनसंख्या दुई लाखभन्दा बढी छ। बुटवलमा जनसंख्या वृद्धिसँगै बर्सेनि ६०० देखि ७०० सम्म नयाँ धारा वितरण हुने गरेको छ।

अहिले बुटवलमा तीन करोड ४० लाख लिटर खानेपानीको माग छ। तर, आपूर्ति भने दुईदेखि अढाइ करोड लिटरसम्म हुने गरेको छ।  

बुटवलमा अहिले तिनाउ सम्पेवलबाट दैनिक एक करोड लिटर, चिडियाखोला डिपट्युबबेलबाट एक करोड ८० लाख लिटर, २० ठाउँबाट भूमिगत एक करोड ८० लाख लिटर पानी वितरण हुँदै आएको छ।

हाल पनि दैनिक करिब ६० लाख लिटर पानी अपुग छ। ट्युबेलबाट करिब एक करोड ८० लाख लिटर पानी उत्पादन हुँदै आएको छ। 

हाल बुटवलमा नगरमा दैनिक पानीको माग तीन करोड ४० लाख लिटर छ। अभाव दिनप्रतिदिन चुलिँदै गए पनि खानेपानी संस्थानले समस्यालाई स्थायीरूपमा समाधान गर्न सकेको छैन।  

पाँच वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य राखिएको झुम्सा खानेपानी आयोजना असफल भएपछि पुनः आयोजना शिलान्यास गरिएको छ। 

बुटवलमा ल्याउने खानेपानीका लागि हालै संघीय सरकारका अर्थमन्त्री तथा नेकपा महासचिव पौडेलले आयोजनाको शिलान्यास गरेका छन्। 

झुम्सा खोलामा यसअघि निर्माण भएको बाँध भत्किएपछि अहिले अर्को व्यवस्थित ड्याम र इन्ट्याक्ट निर्माण सुरु भएको नेपाल खानेपानी संस्था बुटवलका प्रमुख मोहनदत्त भट्टले बताए। बुटवलको खानेपानीको अभावलाई दीर्घकालीनरूपमा समाधान गर्ने गरी योजना बनेको उनले बताए। 

तीन वर्षअघि बुटवल झुम्सा खानेपानी आयोजना सम्पन्न गर्न लागि खरिद गरिएको  १०/२० इञ्चको पाइप खरिदमा आर्थिक अनियमितता भएको भन्दै मुद्दा परेपछि पाइप पनि अलपत्र छ। 

झुम्सा खानेपानी आयोजनाका लागि अधूरो योजना पूरा गर्नका ल्याइएको २२ करोडको पाइप बुटवलको दीपनगर जंगलमा बेवारिसरूपमा छाडिएको छ। 

बुटवल झुम्सा खानेपानी आयोजनाका लागि पहिलो र दोस्रो चरणमा गरेर करिब १५ करोड रूपैयाँभन्दा बढी खर्च भइसकेको छ।

झुम्सा खोलाबाट दुई वर्षभित्र मेनलाइनको पाइप बिछ्याउने र मुहान डयाम निर्माण सम्पन्न गरेर ट्याङ्की निर्माण गरिने संस्थानका प्रमुख भट्टले बताए। 

यसअघि बिछ्याइएका १० इन्च पाइपसँगै अब २० इन्चका पाइप थपिने छ भने झुम्सादेखि बाँधस्थलसम्म यसअघिका २० इन्चका पाइपसँगै अब थप २० इन्चका पाइप बिछ्याइने छ। 

बाँधसँगै मुख्य ‘ट्रान्समिसन पाइप’ लाइनको पनि निर्माण सम्झौता भएर काम गरिने खानेपानी संस्थानका प्रमुख भट्ट बताउँछन्। यो कामलाई पनि २०७९ वैशाखभित्रै सक्ने लक्ष्य लिइएको आयोजनाले जनाएको छ। 

बुटवल उपमहानगरपालिकाले एसियाली विकास बैंकसँग ऋण अनुदानमा सुरु गर्न लागेको  २२ करोडको खानेपानी परियोजना पनि बीचमै तुहियो। 

बुटवलमा २०५०/२०५१ सालमा यो आयोजनामार्फत् बुटवलमा पाल्पाको सिस्नेबाट पानी ल्याउन सर्भे गरिएको थियो। आयोजनाको काम रोकिएर २०६४/०६५ सालमा यो आयोजनाको झुम्सा खानेपानी आयोजाका नाममा पुनः काम सुरु भएको थियो। तर, पनि आयोजनाको काम अलपत्र पारेर पुनः नयाँ डीपीआर गरियो। यो पनि अलपत्र पर्‍यो। 

झुम्साबाट पानी बुटवल ल्याउने योजना असफल भएपछि स्थायी समाधानका लागि खानेपानीको गुरुयोजना बनाउन लागिपरेको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए।  

उनले बुटवलमा खानेपानीको अभावलाई अब सदाका लागि अन्त्य गर्ने गरी उपमहानगरले गुरुयोजना बनाएको बताए। 

स्रोतको खोजी र संरक्षण गरेर आगामी ५० वर्षपछिसम्मको जनसंख्यालाई मध्यनजर गर्दै खानेपानीको गुरुयोजना बनाउने काम भइरहेको बुटवलका सहरी विकास महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले बताए। 

प्रकाशित: Jan 16, 2021| 05:37 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।