काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा आज (शनिबार) प्रमुख प्रतिपक्षी दल कांगेसले देशका सबै ७५३ स्थानीय तहमा विरोध प्रदर्शन गर्न लागेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले यसअघि १३ पुसमा १६५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २५ पुसमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाले ७५३ स्थानीय तहमा आज हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई अपिल गरेका छन्। उनले विज्ञप्तिमार्फत संसद् विघटनको कार्यलाई कांग्रेसले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको जनाउँदै संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमतका साथ उभिएको बताएका छन्।
देउवाले पार्टीको सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न आग्रह गरेका छन्।
कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि सरकारको कदमविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतको फैसला पर्खने र अदालतले पुनःस्थापनाको पक्षमा फैसला गरे स्वागत गर्ने विपक्षमा फैसला गरे चुनावमा जाने रणनीति बनाएको छ।