काठमाडौं- सर्वोच्च अदालतले न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारमा आपत्ति जनाएको छ।
आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले समाचारमा आपत्ति जनाएका हुन्।
शुक्रबार केही सञ्चारमाध्यममा न्यायाधीहरुले प्रधानमन्त्रीलाई भेटेको भन्ने समाचारहरु प्रकाशित भएपछि यी समाचारहरु अदालतलाई प्रभाव पार्ने गरी प्रकाशित भएको र यसले अदालतमाथिको विश्वसनीयतामाथि नै असर गर्ने विज्ञप्तिमा दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘न्यायपालिकाको स्वच्छता र अदालतप्रतिको जनआस्थामा प्रतिकुल प्रभाव पर्नेगरी मिथ्यापूर्ण, भ्रामक, अतिरञ्जित, असत्य र कपोकल्पित समाचार सम्प्रेषण हुनु दुःखद र खेदजन्य विषय हो।’
साथै अदालतमा विचाराधीन मुद्दामा अनावश्यक आशंका र भ्रम सिर्जना गर्ने कुत्सित मनसाय राखी सत्य, तथ्य र यथार्थ अवस्था बुझ्दै नबुझी समाचार सामग्री प्रकाशन गर्ने कार्यबाट न्यायपालिकाप्रतिको विश्वसनीयता र आम नागरिकको यस प्रतिको आस्थामा खलल पुग्न जाने तथा त्यसप्रकारको कार्यबाट सम्र्पूण प्रेस जगतप्रतिको विश्वसनीयतामा समेत आँच आउने सक्ने अवस्था रहने विज्ञप्तिमा दाबी गरिएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाई गर्न गठित संवैधानिक इजलासका न्यायाधीश सपना मल्लसहित चार न्यायाधीशसँग प्रधानमन्त्रीको भेट भएको भन्ने समाचारमा सर्वोच्च अदालतले यसप्रकारको खण्डनसहितको विज्ञप्ति निकालेको हो।