पोखरा– पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ।
शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पुगेको प्रतिनिधिमण्डलले निर्माण प्रगति, त्यसको अवस्थाबारे जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिएका हुन्।
उनका अनुसार प्रतिनिधिमण्डलाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले विमानस्थल निर्माणको लागि पोखरा उद्योग वाणिज्य संघले २०३३ सालदेखि गरेको पहलदेखि रिले अनसनसम्मका प्रसंग स्मरण गर्दै विमानस्थल तोकिएकै मितिमा सञ्चालन हुनुपर्नेमा जोड दिए।
विमानस्थल तोकिएकै मितिमा सञ्चालन भए त्यसले कोभिड–१९ ले थलिएको पर्यटन उद्योगसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने उनको भनाइ थियो।
अध्यक्ष कोइरालाले विमानस्थल सञ्चालनपछि निजी क्षेत्रले त्यसबाट समुचित लाभ लिने खालका कार्यक्रम बनाउन एवं सहकार्य गर्न पोखरा उद्योग वाणिज्य संघ सदैव तयार रहेको जनाउँदै आफैले लविङ गरेको विमानस्थल निर्माणमा भएको प्रगतिमा सन्तोष व्यक्त गरे।
२०३२ सालमा ३१०६ रोपनी जग्गा अधिग्रहण भएसँगै पोखरा उद्योग वाणिज्य संघले विमानस्थल निर्माणको लागि पैरवी गर्दै आएको छ।
विभिन्न समयमा प्रधानमन्त्री,पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायसँग निरन्तर पैरवीमा रहेको संघले २०६८ सालमा रिले अनसनको नेतृत्व नै गरेको थियो।
संघले अगुवाई गरेको रिले अनसनमा पोखराका सबैजसो संघसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य संघहरूले ऐक्यबद्धता जनाएका थिए।