विराटनगर– विराटनगर १५ का ३२ वर्षीय रामकिशोर ठाकुरले एक वर्षअघि १५ लाख ऋण लिए। सर्तअनुसार समयमै दुई लाख रुपैयाँ थपेर ठाकुरले १७ लाख रुपैयाँ फिर्ता गरे।
बारम्बार ६० लाख माग्दै फोन आउन थालेपछि र सो गिरोहले आफूलाई कब्जामा लिएर अपहरण शैलीमा लग्दै एक करोड १० लाख रुपैयाँको हस्ताक्षर गर्न लगाएर बैंकको चेक लगेपछि ठाकुर प्रहरीको शरणमा पुगे।
विभिन्न धम्की आउन थालेपछि ज्यानको बाजी राखेर आफू प्रहरीमा पुगेको ठाकुरले बताए। ठाकुरले उजुरी दिएपछि पुस ६ गते उनले ऋण लिएका एजाज अहमदलाई पक्राउ गर्यो।
प्रहरी अनुसन्धानले एजाजको समूहले मिटरब्याजमा लगानी गर्ने गरेको प्रहरीले पत्ता लगायो। मिटरब्याजमा पैसा लगानी गर्ने एउटा ठूलो गिरोहविरुद्ध जिल्ला अदालत मोरङमा शुक्रबार ‘आपराधिक लाभ लिएको’ कसुरमा मुद्दा दर्ता गरेको छ।
जिल्ला अदालत मोरङका स्रेस्तेदार राजकुमार दाहालका अनुसार जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै चार जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।
मुद्दामा विराटनगर–९ का ३२ वर्षीय एजाज अहमद, ३५ वर्षीय युसूफ भनिने फाकिरा शेख, ३२ वर्षीय सावन दास र ३५ वर्षीय तनवीर खानलाई प्रतिवादी बनाइएको उनले बताए।
प्रतिवादी बनाइएकामध्ये एजाजमात्रै पक्राउ परेका छन्। अरु फरार छन्। दाहालका अनुसार आगामी आइतबारदेखि मुद्दामा बहस सुरु हुन्छ।
वादी र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस भएपछि अदालतबाट उक्त गिरोहलाई पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने आदेश हुने उनले बताए।
थोरै लगानी गरेर ‘मिटरब्याज’ मार्फत धेरै असुल्ने गरेको पाइएपछि एजाजलाई प्रहरीले पुस ६ गते पक्राउ गर्दै घटनाको अनुसन्धान थालेको हो।
उनी पक्राउ परेको थाहा पाएपछि अरु तीन जना फरार रहेको र उनीहरुको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
उनका अनुसार पक्राउ परेकामाथि अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले कानुनअनुसार आफ्नो प्रक्रिया अघि बढाएको हो।
प्रहरीले सुरुमा थोरै लगानी गर्ने र विभिन्न परिबन्धमा पारेर यातना दिँदै, धम्क्याउँदै र अपहरण गर्दै सर्वसाधारणसँग धेरै रकम असुल्नेसम्मको अपराध ‘मिटरब्याजी’ गिरोहले गर्ने गरेको निष्कर्ष निकालेको छ।