काठमाडौं– भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकार गठन भएपछि आर्थिक र सामाजिक क्षेत्रमा मुलुकले ठूलो फड्को मारेको बताएका छन्।
विश्व मामिला सम्बन्धी भारतीय परिषदले आयोजना गरेको कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै ज्ञवालीले केपी शर्मा ओलीको नेतृत्वमा मुलुक विकासको नयाँ चरणमा प्रवेश गरेको बताएका हुन्।
उनले भनेका छन्, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सार्थक बनाउन वर्तमान सरकारले आर्थिक विकास र समाजिक रुपान्तरणको बलियो जग बसालेको छ।’
सरकारले विकासका प्राथमिकता परिवर्तन गर्दै कार्यान्वयनलाई तीव्रता दिएको जनाएका छन्।
मुलुकले तीन वर्षमा विकासका सूचांककमा उल्लेख्य प्रगति गरेको ज्ञवालीले बताएका छन्।
कोरोना महामारीकै बीचमा पनि आर्थिक विकासमा मुलुक उत्कृष्ट १० मा परेको उनको भनाइ छ। उनले भनेका छन्, ‘तीन वर्षमा मुलुकले निरन्तर ६.५ प्रतिशत आर्थिक वृद्धि गरेको छ। १.५ प्रतिशतले गरिबी घटेको छ।’
व्यापार घाटा १० प्रतिशतले घटेको, विदेशी लगानी बढेको, विदेशी मुद्रा सञ्चिति बढेकोलगायत विषय पनि ज्ञवालीले सम्बोधनमा समेटेका छन्।
वर्तमान सरकारले घोषणा गरेको मध्यावधि चुनाव प्रजातन्त्रकै हिस्सा भएको भन्दै यसले प्रजातन्त्र र वर्तमान संविधानलाई बलियो बनाउने उनको तर्क छ।
तीन दिने भ्रमणको लागि १ माघमा भारत गएका परराष्ट्रमन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किने कार्यक्रम छ।