बुटवल– नेकपा ओली समूहका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एमसीसी प्रस्तावबारे तत्काल निर्णय गर्नुपर्ने बताएका छन्।
‘आउने जेठसम्म ५० र भदौसम्म ५ सय मेगावाट ऊर्जा खपत हुन्छ। यो चुनौती सामना गर्नका लागि एमसीसीबारे तुरुन्तै निर्णय गर्नुपर्छ,’ मन्त्री रायमाझीले शुक्रबार रिपोटर्स क्लब लुम्बिनीले बुटवलमा आयोजना गरेको सक्षात्कारमा भने।
उनले एमसीसी ट्रान्समिसन लाइन निर्माण गर्ने आयोजना भएकाले यो प्रस्ताव लागू गर्ने वा खारेज गर्ने भन्नेबारेमा तुरुन्तै निर्णय गर्नुपर्नेमा जोड दिए। ‘ऊर्जा धेरै भएकाले अहिले लोड धान्न नसकेर ट्रिपिङ भइरहेको छ,’ मन्त्री रायमाझीले थपे, ‘यो चुनौतीका लागि तुरुन्त ट्रान्समिसन व्यवस्थित बनाउनुपर्छ।’
उनले ट्रान्समिसन निर्माणका लागि बजेट अभाव हुने भएकाले एमसीसी लागू गरेमा सहज हुने संकेत गरे। अमेरिकी परियोजना एमसीसीबारे नेकपाभित्रै विवाद छ। पार्टी विभाजनको एउटा कारणका रुपमा समेत चर्चा गरिएको एमसीसीबारे भने नेता रायमाझीले एमसीसी लागू गर्नेबारेमा अन्योलमा बस्न नहुने बताए। ‘विदेशी लगानी नभई देश विकास गर्न सकिँदैन। १० वर्षअघि आएको एमसीसीबारे अहिले बल्ल विवाद भएको हो,’ उनले भने।
रायमाझीले सरकार चु्नावतिर केन्द्रित भएकाले ऊर्जा शक्तिको वितरण व्यवस्थित बनाउन समस्या आउने बताए। उनले २०७२ मा आफू ऊर्जामन्त्री भएको बेलामा लोडसेडिङ अन्त्यको योजना बनाएको दाबीसमेत गरे।
नेकपा ओली समूहका नेता रायमाझीले प्रधानमन्त्री केपी ओलीसँग विकल्प नै नभएर प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे।