कञ्चनपुर- गएराति मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुरको कृष्णपुरमा दुईजनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका-५, आम्खैयामा दुर्घटना हुँदा दुईजनाको मृत्यु र दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
दुर्घटनामा परी से ६ प ३१६७ नम्बरको मोटरसाइकल चालक धनगढीको गोदावरी राइस मिल नजिक बस्ने २५ वर्षीय आशिष जोशी र सुप.प्र. ०१.००.७१५७ नम्बरको मोटरसाइकल चालक कृष्णपुर नगरपालिका-२, वाणीका ३५ वर्षीय जनक बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते जोशीको धनगढीस्थित निसंर्ग अस्पताल र बोहराको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।
सोही मोटरसाइकल दुर्घटनामा परी कैलालीको लम्कीचुहा नगरपालिकाका २३ वर्षीय निश्चल राठोर र अभिषेक चुनारा घाइते भएका छन्।
प्रहरीका अनुसार घाइतेहरूको धनगढीमा उपचार भइरहेको छ। रासस