काठमाडौं। तराईका विभिन्न जिल्लामा बिहानपख हुस्सु–कुहिरो लाग्ने गरेको छ। अहिले पनि सो क्षेत्रमा कुहिरो लागिरहेको छ।
कुहिरोसँगै मानिसहरूको दिनचर्या पनि प्रभावित बनेको छ। सवारीसाधनलाई आवतजावतमा पनि समस्या भएको छ।
जाडो छल्न मानिसहरू आगो तथा हिटर तापेर बसिरहेका छन्।
यस्तै आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशमा दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव छ।
देशका अधिकांश भू-भागमा तापक्रममा हल्का गिरावट आई चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।