विराटनगर- नेकपाको ओली पक्षीय नेता एवम् केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा जोडिने सम्भावना नभएको बताएका छन्।
राजनीतिक रुपमा विभाजित भएपछि अब एक हुने सम्भावना नरहेको उनले बताए।
विराटनगरमा बिहीबार राष्ट्रिय युवा संघ मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमाम उनले नेकपाबाट एउटा समूह अलग भएको बताए। नेता बस्नेतले भने, ‘माउसुलीको पुच्छर झरेपछि जोडिँदैन।’ जनमत टुटेर जानेको पक्षमा नरहेको भन्दै उनले दाहाल–नेपाल समूहमा कार्यकर्ता अभाव रहेको बताए।
कार्यकर्ता कम भएपछि नयाँनयाँ जुलुस निकालिएको उनको दाबी छ। नयाँ जुलुस भएर मिडिया कभरेज भएको बस्नेतले बताए।
अर्को प्रसंगमा उनले प्रदेश संरचनाको नयाँ अभ्यास भएकाले खासै प्रभावकारी नदेखिएको बताए।
संसद पुनर्स्थापना हुन नसक्ने उनले जिकिर गरे। नेता बस्नेतले भने, ‘संसद पुर्नस्थापना हुनु भनेको जनमत अस्वीकार गर्ने कुरा हो।’ नेपालको राजनीति ‘ह्याङ’ भएकाले ‘रि-स्टार्ट’मा जानु परेको नेता बस्नेतको भनाइ छ।
पुष्पकमल दाहाल र माधव नेपाल निर्वाचनमा जान डराएको उनले आरोप लगाए। चुनाव हारिने डरले संसद पुनर्स्थापना भन्दै हिँडेको उनको भनाइ छ।