काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कांग्रेस विधिको हिँड्ने पार्टी भएकाले अहिले कुनै वामपन्थी दलसँग मिल्न आवश्यक नरहेको बताएका छन्।
धादिङको सल्यानटारमा बिहीबार आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनलेनेपालमा लोकतन्त्र र विधिको शासनको जग बसाल्ने पार्टी भएकाले अहिले विधिविहीनताको पछाडि लाग्न नहुने बताएका हुन्।
उनले भने, ‘अहिले केपी ओलीको पछाडि लाग्नु भनेको कांग्रेसका लागि आत्महत्याको बाटो हो।’
उनले कांग्रेस एक्लै आन्दोलनमा जानुपर्ने बताए। कम्युनिस्टहरुको ज्यादतीका विरुद्ध आन्दोलन हुनुपर्ने उनको भनाइ छ।
उनले नेपाली कांग्रेस कहिलै पनि निर्वाचनबाट पछाडि नहट्ने पनि बताए।
नेता केसीले वाइडबडी काण्ड, ३३ केजी सुन, न्यारोबडी, ओम्नी जस्ता काण्डमा अर्बौंअर्ब भ्रष्टाचार हुँदा पनि कांग्रेसले संसद् बन्द गर्न नसकेको बताए।
उनले भने, ‘अहिले मनपरीतन्त्र र भ्रष्टाचारका विरुद्ध आन्दोलनमा लाग्नुको पहिलो काम हो।’ उनले पार्टीका सबै विवाद पोको पारेर राखी कम्युनिस्ट विरोधी आन्दोलनमा लाग्नुपर्ने बताए।
उनले एकडेढ वर्षका लागि विशेष अधिवेशन गरेर जान सकिने बताए।