काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक हो भन्ने फैसला सर्वोच्च अदालतबाट आउने आशमा आफूहरु रहेको बताएका छन्।
नेपाल बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटनः प्रतिगामी कदम’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले केपी ओलीको तीव्र आलोनचा गरे।
उनले भने, ‘उहाँले काम गर्न दिइएन भन्दै हुनुहुन्छ। उहाँलाई मनपरी काम गर्दा पनि पुगेन सबै शक्ति आफ्नो हातमा लिँदा पनि पुगेन। सत्ताको दुरुपयोग गर्दा पनि पुगेन। उहाँले लोकतान्त्रिक परिपाटीलाई नै लत्याएर अघि बढ्न खोज्नुभयो। उहाँले जथाभावी नियुक्ति गर्नेदेखि लिएर गलत काम गर्दै हिँड्नुभयो। पदका निम्ति अयोग्यहरुलाई छानेर अघि बढ्नुभयो।’
आफूहरु (पुष्पकमल दाहाल, झलनाथ खनाललगायत) केपी ओलीको दास नभएको बताउँदै पार्टीमा विधि, पद्धतिका बारेमा छलफल गरौं भन्दा ओलीले नमानेको गुनासो गरे।
‘राष्ट्रिय सरोकारका विषयमा, जनसरोकारका विषयमा छलफल गरौं भन्यौं। हामीले उहाँको हरेक कदममा साथ नदिनु नै हाम्रो अपराध हो र ? उहाँको शैली नै तानाशाही र निरंकुश भएकाले हामीले निस्सासिएर आवाज उठाएका हौं। समस्या उहाँको चिन्तन र कार्यशैलीमा नै देखिएको हो। उहाँको कार्यशैलीबाट पार्टीका नेता कार्यकर्तामात्रै होइन, प्रतिपक्षी पनि पीडित भए। उहाँले प्रधानमन्त्री पदको गरिमा राख्न सक्नु भएन। सानो गुटमा रमाउनुभयो। आफ्नो भजन गाउनेहरुलाई मात्रै समातेर अघि बढ्नुभयो। उहाँले भ्रममा पार्ने काम गर्नुभएको छ। उहाँ विधान मान्नुहुन्न, बहुमत मान्नुहुन्न। उहाँ त आफ्नो निर्णय नै सर्वेसर्वा भन्नुहुन्छ। व्यवस्थामा त सबैले बस्न सक्नुपर्छ नि,’ नेपालले भने।
संविधानमाथि कू भएको बेला चुनावको औचित्य नहुने नेपालले तर्क गरे। भने, ‘उहाँले (प्रधानमन्त्रीले) भनेको चुनाव कुनै पनि हालतमा हुँदैन। भ्रममा नपरे हुन्छ कोही पनि। केपी ओली नै अहिलेसम्मको अवस्थाको मुख्य जिम्मेवारी हो। उहाँलाई ५ वर्षकै प्रधानमन्त्री भनेर हामीले जिम्मेवारी दिएका थियौं। तर त्यसको अवमूल्यन गरियो। उहाँ बदलाको भावना लिएर हिँड्ने मानिस हो। उहाँले पार्टीको नेतृत्व लिएपछि ध्वस्त बनाउनुभयो। मदन भण्डारी फाउन्डेसनको नाममा उहाँले गुट चलाउनुभयो।’
संविधानको कुनै धारामा प्रतिनिधिसभा विघटन गर्ने व्यवस्था नगरिएको उनले तर्क गरे। ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नमिल्ने प्रावधान पनि थियो। हुँदै नभएको धारा राखेर अनि अन्तर्राष्ट्रिय अभ्यास लगायतका कुराहरु राखेर उहाँले विघटन गरेँ भन्नुहुन्छ। त्यसैले लोकतन्त्र र स्थायित्वमाथि प्रहार गर्ने काम जुन भएको छ, यो असंवैधानिक कदम हो। यसका विरुद्ध डटेर सामना गर्नुपर्ने बेला आएको छ। कम्युनिस्ट आन्दोलनलाई तहसनहस गर्ने काम गरिएको छ। आन्दोलनको ज्वारभाटा ल्याउनुपर्ने बेला अहिले आएको छ। नेकपाको आधिकारिकता हाम्रै हो। ओली नेकपाका अध्यक्ष होइनन्, उनको गुट हो त्यो। अब उहाँको गतिविधि हेर्दा थप कारवाही गर्नुपर्ने देखिएको छ।’
केपी ओलीले विश्राम लिनुपर्ने तर्क गर्दै नेपालले ओलीको बोझ यो देशले बोक्न नसक्ने टिप्पणी गरे।