काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टी एकता समयको माग र आवश्यकता भए पनि ‘एकता नै कमजोर धरातलमा अडेको रहेछ’ भन्ने देखिएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा लेख्दै पोखरेलले यस्तो विचार सार्वजनिक गरेका हुन्।
‘पार्टी एकता समयको माग र आवश्यकता थियो। दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नुभयो। हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि वढ्नु उचित हुने सुझाव दिएका थियौँ,’ उनले लेखेका छन्, ‘तर उहाँहरूले भावनात्मक कुरा गर्नु भो। हामीले त्यसलाई स्वीकार गर्यौं। तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन।’
भएको शक्ति समीकरणका माध्यमबाट अघि बढ्ने कुरामा नै सधैं रुचि देखिएको पोखरेलको भनाइ छ।
‘तर आज आएर विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो। र पनि यसले दुई फरक आन्दोलनका प्रवृत्तिलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ,’ उनले भनेका छन्, ‘एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा बादल हुनुहुन्छ अर्कोतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल। यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पुनर्गठन गर्ने अवसर प्रदान गरेको छ।’
एकता रक्षाका लागि गरिएका प्रयास किन असफल भए भनेर कार्यकर्ताले प्रश्न गर्दा आफूले कति कुरा बताउँ भनेर अन्योलमा पर्ने गरेको उनको भनाइ छ।
‘प्रतिनिधिसभा विघटनको दिन पनि एकता रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ जनार्दन शर्माको साथमा। त्यस दिन मैले शर्माले सुझाएको विकल्पलाई महत्त्वका साथ सुझाएको थिएँ,’ पोखरेलले भनेका छन्, ‘तर कमरेड प्रचण्ड त्यसप्रति एकरत्ति पनि सकारात्मक देखिनु भएन। मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन। उहाँ आफ्नो भित्री योजनामा निकै प्रतिबद्ध भइसक्नुभएको रहेछ। उहाँ सहमतिमा होइन, समीकरणको बाटोबाट सत्तामा पुग्ने हतारमा हुनुहुँदो रहेछ। नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छाैँ।’
जनादेशको बाटोबाट नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गरौं
एकता रक्षाका लागि गरिएका प्रयासहरू किन असफल भए भनेर कमरेडहरू प्रश्न गर्नुहुन्छ। म कति कुरा बताउँ भनेर अन्योलमा पर्छु।
प्रतिनिधिसभा विघटनको दिन पनि एकताको रक्षाका लागि म प्रचण्ड कमरेडको निवासमा थिएँ, जनार्दन शर्माको साथमा। त्यस दिन मैले जनार्दन शर्माले सुझाएको विकल्पलाई महत्वकासाथ सुझाएको थिएँ।
तर कमरेड प्रचण्ड त्यसप्रति एकरत्ति पनि सकारात्मक देखिनुभएन। मेरो तर्फबाट प्रस्तुत अन्य विकल्पमा पनि उहाँ सकारात्मक देखिनु भएन। उहाँ आफ्नो भित्रि योजनामा निकै प्रतिवद्ध भइसक्नु भएको रहेछ।
उहाँ सहमतिमा होइन, समिकरणको वाटोबाट सत्तामा पुग्ने हतारोमा हुनुहुँदो रहेछ। नेपाली राजनीतिमा आज हामी त्यसको परिणाम बेहोर्दै छौँ।
पार्टी एकता समयको माग र आवश्यकता थियो। दुई अध्यक्षले त्यसको नेतृत्व गर्दा चमत्कारको शैलीमा आफूलाई प्रस्तुत गर्नुभयो। हामीले वैचारिक र सांगठनिक प्रश्नलाई सुल्झाएर अघि बढ्नु उचित हुने सुझाव दिएका थियौँ।
तर उहाँहरूले भावनात्मक कुरा गर्नु भयो। हामीले त्यसलाई स्वीकार ग¥यौं। तर कमरेड प्रचण्डमा एकतालाई पूर्णतामा लैजाने कुरामा कुनै तत्परता देखिएन।
भएको शक्तिसमिकरणका माध्यमबाट अघि वढ्नेकुरामा नै हमेसा रुची देखियो। तर आज विचार गर्दा पार्टी एकता नै कमजोर धरातलमा अडेको देखियो। यसले दुई फरक आन्दोलनका प्रवृत्तिहरूलाई अन्तरघुलन हुने अवसर भने प्रदान गरेको छ।
एकातिर कमरेड केपीको साथमा रामबहादुर थापा वादल हुनुहुन्छ, अर्कोेतिर पुष्पकमल दाहाल प्रचण्डको साथमा माधवकुमार नेपाल। यसले पनि नयाँ शिराबाट आन्दोलनलाई पुनर्गठन गर्ने अवसर प्रदान गरेको छ।
नेपाली राजनीतिमा पुरानो पुस्ताले अधिकार प्राप्तिको लडाइँमा ऐतिहासिक भूमिका निर्वाह गरेकै हो। कांग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाले एउटै पुस्ताले तीनवटा क्रान्तिको नेतृत्व गरेको कुरा स–गौरव चर्चा गर्नुहुन्थ्यो।
वास्तवमा क्रान्तिको इतिहासमा यो अनुपम कुरा नै थियो। तर दुनियामा एउटा क्रान्तिबाट युगको परिवर्तन हुन्छ। तर हामी कहाँ तीनवटा क्रान्ति पछि पनि युग परिवर्तनको आभाष दिन सकिएको छैन।
यस्तो किन ?
पुरानो पुस्ताका नेताले खोज्ने कोसिस कहिले गर्नु भएन। कमरेड केपीले त्यसको समाधान दिने प्रयास के गर्नु भएको थियो, उहाँलाई चारैतिरबाट घेराबन्दी गरियो र अपमानजनक हिसाबले पार्टी र आन्दोलनबाट बाहिर पठाउने कोसिस गरियो।
कमरेड केपी ओलीको प्रतिनिधिसभा विघटनको घटनालाई सोही परिपेक्षमा हेर्नुपर्दछ। यो एक प्रकारले नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका बिरुद्धमा कमरेड केपी शर्मा ओली नेतृत्वमा भएको राजनीतिक बिद्रोह हो। नयाँ युगतर्फको पाइला हो।
नेकपा भित्र कमरेड केपी शर्मा ओलीलाई एकता निर्माणमा असफल भएको आरोप लगाइएको छ। मेरो विचारमा नेपालका पार्टी निर्माणमा देखिएको जडताको परिणाम हो यो।
नौ सदस्यीय सचिवालयमा सात जना पार्टी प्रमुख हुनु र चार जना पूर्व प्रधानमन्त्री हुनु आफैमा एकता निर्माणको चुनौति थियो। पश्चिमा मुलुकहरूले राजनीतिमा आउनसक्ने यस प्रकारको अवस्थाको समाधान पहिले नै खोजेका थिए।
समाजवादी चीनले पनि त्यसको समाधान खोजिसकेको छ। तर हामीले पद्धतिगत सुधारको साटो व्यवस्थापनमा जोड दियाँै र आजको संकटलाई आमन्त्रण गर्यौँ।
मेरो विचारमा पार्टी पद्धतिमा सुधारको प्रयास नगर्ने हो भने पुनर्गठित पार्टीहरू भित्र पनि भविष्यमा यही प्रकृतिको समस्या नआउला भन्न सकिन्न। अहिले प्रचण्ड र माधव कमरेडहरूका बीचमा चलिरहेको छलफलले पनि त्यही संकटलाई संकेत गरिरहेको छ।
कतिपय कमरेडहरू नयाँ शिराबाट एकताको पहल गर्न अनुरोध गरिरहनु भएको छ। त्यो पहलकदमीका लागि यस्ता कुरामा मतैक्यताको आवश्यकता पर्दछ ।
आजको संकटको कारण प्रतिनिधिसभाको विघटन हो या दुई तिहाईको जनादेशलाई र पार्टी एकताको भावनालाई आत्मसात गर्न नसक्ने कुरा हो भन्नेमा हाम्रा बीचमा विमति रहेछन्।
प्रतिनिधिसभा विघटन परिणाम हो। कारण होइन। कारण त हाम्रो पार्टी प्रणालीमा छ र त्यसमा सुधार नै नयाँ एकताको आधार हो।
आउनुहोस नयाँ जनादेशको बाटोबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन र एकतावद्ध गरौँ। पार्टी पद्धतिको सुधारका माध्यमबाट नयाँ युगको सारथीको रुपमा नेपालको कम्युनिष्ट आन्दोलनलाई सुदृढ गरौं।