काठमाडौं– नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गरेका छन्।
तीन नेताबीच बुधबार साँझ भेट भएको थियो। दाहाल नेपाललले देउवासँग आन्दोलनमा सहकार्य गर्ने प्रस्ताव राखेका छन्। स्रोतका अनुसार उनीहरुले संसद् पुर्नस्थापना भए देउवालाई प्रधानमन्त्री बनाउने अफर समेत गरेका छन्। तर त्यसका लागि संसद् पुर्नस्थापनाका लागि संयुक्त आन्दोलन गर्नुपर्ने दाहाल–नेपालको सर्त छ।
तर दाहाल नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका छैनन्। उनले पार्टी भित्र छलफल नगरी वचन दिन नसक्ने बताएको छलफलमा सहभागि एक नेताले जानकारी दिए।
‘संसद् पुर्नस्थापनाका लागि संयुक्त आन्दोलन गरौं। संसद् पुर्नस्थापना पछि तपाई नै प्रधानमन्त्री बन्नु होला’, दाहाल–नेपालले देउवा समक्ष प्रस्ताव राखेका थिए।
‘पार्टी भित्र छलफल गर्नुपर्छ। पार्टीभित्र छलफल नगरी टुंगो दिन सक्दिनँ,’ देउवाले दाहाल नेपाललाई दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो।
देउवाले चुनावलाई प्राथमिकता दिएको बारे दाहालले जिज्ञासा समेत राखेका थिए, ‘किन यति धेरै चुनावमा जोड दिइरहनुभएको छ?’ दाहालले सोधेका थिए।
देउवाले ओलीको कदम आफूले असंवैधानिक भनिसकेको र कांग्रेसको पहिलो प्राथमिकता संसद् पुर्नस्थापना नै भएको जवाफ फर्काएका थिए। यदी संसद् पुर्नस्थापना नभए निर्वाचनका लागि तयार हुनुपर्छ भनेर आफूले भनेको उनको भनाइ रहेको स्रोतले बतायो।