आइतबार, भदौ २१, २०८३

अदालत ओलीको प्रभावमा पर्न सक्छ, चनाखो बनौँ : भट्टराई

समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अदालत प्रधानमन्त्री केपी ओलीको प्रभावमा पर्न सक्ने आशंका व्यक्त गरेका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

पोखरा- समाजवादी पार्टी नेपालको संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईले अदालत प्रधानमन्त्री केपी ओलीको प्रभावमा पर्न सक्ने आशंका व्यक्त गरेका छन्।

त्यसैले प्रतिनिधिसभा पुनस्र्थापित नहुने निर्णय सर्वोच्चबाट आएमा आश्चर्य मान्नु नपर्ने उनको तर्क छ।

समाजवादी पार्टी गण्डकी प्रदेशले बुधबार पोखरामा गरेको विरोध कार्यक्रममा उनले भने, ‘अदालतबाट सोचेजस्तो निर्णय नआउन सक्छ, प्रभावित पार्न सक्ने खतरा छ, हामी सडकबाट पैरवी गरिरहनुपर्छ।’ 

अदालतभन्दा माथि जनताको अदालत हुने भएकाले अन्तिम निर्णय जनताले गर्नुपर्ने उनको भनाइ थियो। अदालतले सही निर्णय दिनेमा आशावादी रहे पनि सरकारको प्रभावमा पर्ने सक्ने भय बाँकी नै रहेको उनले दोहोर्‍याए। 

प्रधानमन्त्री ओलीले संविधानविपरीत संसद विघटन गर्नुलाई सही भन्दै थपडी बजाउनुले भविष्यका लागि गलत नजीर बन्ने उनको भनाइ थियो। विगतमा संविधानमा टेकेर सदन विघटन भए पनि अहिले संविधानविपरितको कदम रहेको उनको टिप्पणी थियो। 

नेता भट्टराईले ओलीलाई ‘चटके’ को संज्ञासमेत दिए। ओलीका कारण आफूहरुले संविधान बनाउँदा देखेका सपना पूरा नभएको बताउँदै नेपाली जनताका सपनाको हत्या भएको टिप्पणी भट्टराईले गरे।

‘हामीसँग सपना थियो, भ्रमपूर्ण सही किसान समृद्ध हुन्छन्, रोजगारी सबैलाई मिल्छ, विभेद अन्त्य हुन्छ, कुण्ठित राष्ट्रवाद उठ्छ भन्ने सपना थियो,’ उनले भने, ‘संविधानको विघटन गरी सपना टुटाइए।’ 

अहिले ओलीले भारतसँग आत्मसमर्पण गरेर संसद विघटन गरेको उनको अर्को आरोप थियो। ‘ओलीले भारतसँगै आत्मसमर्पण गरेर सदन विघटन गरे, हामी चनाखो नभए ठूलो राष्ट्रघात हुने तयारी छ,’ भट्टराईले भने, ‘कामचलाउ सरकारको मन्त्री भारत भ्रमण जानुले राष्ट्रघात हुँदैछ भन्ने पुष्टि गर्छ।’

जसपाका वरिष्ठ नेता अशोक राईले केपी ओलीले जनतामाथि खड्ग प्रहार गरेको बताए। ‘उहाँको नाम नै खड्ग ओली हो, जनतामाथि नै खड्ग प्रहार गर्नुभयो, पार्टीको रिस जनतामाथि पोख्नुभयो,’ राईले भने। प्रधानमन्त्री ओलीलाई कारबाही गरिनुपर्ने उनको धारणा थियो।

जसपा नेता शरदसिंह भण्डारीले केपी ओलीले आफ्नो सनकको आडमा देश ध्वस्त पारेको बताए। नेपाली जनताले ठूला तानाशाह फालेको भन्दै ओलीजस्ता फुच्चे तानाशाह फाल्न कुनै समय नलाग्ने उनको तर्क थियो।

जसपा केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभा सदस्य हरिशरण आचार्यले अब ओलीलाई कालोमोसो र चप्पलको माला लगाएर बालुवाटारबाट निकालिनुपर्ने बताए। बुधबारको विरोध कार्यक्रममा जसपाका गण्डकी इन्चार्ज गणेशमान गुरुङ, जसपा नेतृ हिसिला यमी, प्रदेशसभा सदस्य धनमाया लामा पोखरेल, शंकर गौतम लगायत नेता सहभागी थिए।

प्रकाशित: Jan 13, 2021| 14:15 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।