आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालबारे बारम्बार विवादित अभिव्यक्ति दिने चौधरी काे हुन् ?

नेपालबारे बारम्बार विवादित अभिव्यक्ति दिने चौधरी काे हुन् ?

भारतीय टेलिभिजन च्यानल जि न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथा क्षेत्रको कालापत्थर पुगेर सगरमाथामा भारतले दाबी गर्नुपर्छ भनेर गरेको टिप्पणी अहिले विवादको घेरामा छ।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– भारतीय टेलिभिजन च्यानल जि न्युजका प्रधान सम्पादक सुधीर चौधरीले सगरमाथा क्षेत्रको कालापत्थर पुगेर सगरमाथामा भारतले दाबी गर्नुपर्छ भनेर गरेको टिप्पणी अहिले विवादको घेरामा छ। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएर अनुमतिबिनै कालापत्थर पुगेका उनले सगरमाथामा भारतले दाबी ठोक्नुपर्ने भनेर भिडियो रिपोर्टिङ गरेका थिए। 

उनले भनेका थिए, ‘म भन्न चाहन्छु– माउन्ट एभरेस्टमाथि भारतको पनि दाबी हुनुपर्छ । यो शिखरको नाम राधानाथ सिकदरको नामबाट राखिएको हुनुपर्थ्यो। भारतले यसका लागि अभियान चलाउनुपर्छ।’ उनको यो अभिव्यक्ति विवादको घेरामा छ र उनको आलोचना भइरहेको छ। 

त्यसो त चौधरीका लागि विवाद र आलोचना सामान्य हो। उनी आफैंमा विवादित पात्र हुन्। उनले नेपालबारे विवादित अभिव्यक्ति दिएको पनि यो पहिलो पटक होइन। उनले थुप्रै पटक यस्ता टिप्पणी गर्दै आएका छन्।

चौधरी तिनै व्यक्ति हुन्, जसले केही माहिनाअघि प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर ‘ओलीकी इश्कीयाँ’ शीर्षकको रिपोर्ट बनाएका थिए। 

नेपालले कालापानी, लिपुलेक समेटेर नक्सा जारी गर्दा उनले नेपालमाथि तुच्छ शब्द प्रयोग गरेर गाली गरेका थिए। नेपालबारे घृणा फैलाउने सामग्री प्रसारण गर्न थालेपछि सरकारले जी न्युजसहित धेरै भारतीय च्यानलको नेपालमा प्रसारण नै बन्द गरेको थियो। त्यसबेला चौधरीले ‘नेपाल भन्ने देश त टिभी एंकरहरुबाटै डरायो, यहाँ सेनाको खाँचो नै परेन’ भन्ने अभिव्यक्ति दिएका थिए।

जी न्युजले लिपुलेक, लिम्पियाधुरा र कालापानीको मामिलामा नेपाल चीनको इशारामा नाचेको, अभिनेत्री मनीषा कोइरालाको चरित्र हत्या गर्नुका साथै  नेपालबारे लगातार भ्रमपूर्ण सामग्री प्रसारण गर्दै आएको थियो।

जी न्युज भारतमा ‘गोदी मिडिया’को रुपमा परिचित छ। उसले भारतीय जनता पार्टी नेतृत्वको सरकारको वकालत गर्नुका साथै भक्तिगान नै गाउँदै आएको छ। यस क्रममा सरकार विरोधीलाई चौधरीले तुच्छ शब्दमा गाली गर्ने र धज्जी उडाउने काम गर्दै आएका छन्।  

चर्चाका लागि अनेकौं फण्डा चलाउन रुचाउने चौधरीले नेपालमा सगरमाथाको नाम फेर्न अभियान नै चलाउनुपर्ने बताए। उनका लागि त्यो आफूलाई ‘माइलेज’ दिने कन्टेन्ट बन्यो। तर, नेपाल र नेपालीका लागि यो अपाच्य हुनु स्वाभाविक हो। यो कुरा सामाजिक सञ्जालमै प्रस्ट देखिएको छ।
चौधरी विवादित पात्र त हुन् नै, उनको आपराधिक पृष्ठभूमि पनि छ। उनी घूस काण्डमा जेल परिसकेका छन्। सन् २०१२ मा भारतीय कंग्रेसका सांसद तथा उद्योगपति नवीन जिन्दलको कम्पनीसँग सय करोड घूस मागेको आरोपमा चौधरी पक्राउ परेका थिए। उनले जिन्दल र कोइला घोटालामा समचार नलेख्ने सर्तमा घूस मागेका थिए। यो प्रकरणमा चौधरीसँगै जी न्युजका बिजनेस प्रमुख समीर अहलुवालिया समेत पक्राउ परेका थिए। 
धार्मिक र साम्प्रदायिक ध्रुवीकरण गर्न खोजेको आरोपमा पनि चौधरीमाथि प्रहरीमा उजुरी परेको थियो। गत वर्षमात्रै चौधरीले आफ्नो ‘डीएनए’ नामक कार्यक्रममा मुस्लिम समुदायमाथि निशाना लगाएका थिए। किसान आन्दोलन, नागरिकता सम्बन्धी कानुन लगायत विषयमा समेत चौधरी विवादित छन्। 

–भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा

प्रकाशित: Jan 13, 2021| 12:10 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।