विराटनगर- मोरङमा झण्डै २ लाख जनाले स्वास्थ्य बीमा गरेका छन्। स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको एक वर्षको अवधिमा १ लाख ९१ हजार ४८९ जनाले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्ड, मोरङले जनाएको छ।
स्वास्थ्य बीमा गर्नेमा ९१ हजार ९६६ पुरुष र ९९ हजार ४६५ महिला छन्। बोर्डको तथ्यांकअनुसार ५८ जनाको लिंग उल्लेख छैन। स्वास्थ्य बीमा बोर्ड, मोरङका दर्ता अधिकारी दिलिप पोखरेलले अनलाइनमा तथ्यांक राख्ने क्रममा ५८ जनाको लिंग छुटेको हुन सक्ने बताए।
गत वर्षको मंसिरबाट मोरङमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको पोखरेलले बताए। १७ वटा स्थानीय तहको १५९ वटै वडामा दर्ता सहयोगी मार्फत् स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको उनले बताए।
चालू आर्थिक वर्षको असार मसान्तसम्म मोरङमा ४५ प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिसक्ने लक्ष्य राखिएको पोखरेलको भनाइ छ। २०६८ को राष्ट्रिय जनगणनाअनुसार मोरङको जनसंख्या ९ लाख ६५ हजार छ।
स्वास्थ्य बीमा बोर्डका अनुसार विराटनगर महानगरपालिकामा सबैभन्दा बढी ४५ हजार ८५७ जनाले स्वास्थ्य बीमा गरेका छन्।
बेलबारीमा १२ हजार २१९, बुढीगंगामा ७ हजार ३७७, धनपालथानमा २ हजार ८६४, ग्रामथानमा ३ हजार ३८, जहदामा २ हजार ८६२, कानेपोखरीमा ६ हजार ५५१, कटहरीमा ४ हजार ५६, केराबारीमा ५ हजार ३५०, लेटाङमा ९ हजार ५१२, मिक्लाजुङमा ९ हजार ८७३, पथरीशनिश्चरेमा १७ हजार ७८७, रंगेलीमा ५ हजार ७६५, रतुवामाईमा १० हजार १७५, सुन्दरहरैचामा २३ हजार ५६९, सुनबर्षीमा ४ हजार ६३० र उर्लाबारीमा २० हजार ४ जनाले स्वास्थ्य बीमा गरेको दर्ता अधिकारी पोखरेलले बताए।
उनका अनुसार दर्ता सहयोगीहरुले घरदैलो गरी स्वास्थ्य बीमा गराउने गरेका छन्। कार्यक्रमका बारेमा बुझेकाहरुले सहजै रुपमा बीमा गर्ने गरेको उनले बताए। पोखरेलका अनुसार बीमा प्रभावकारी बनेको छ। गत बर्ष बीमा गरेका करिव ७० प्रतिशत हाराहारीले नविकरण गरेको उनले बताए।
५ जनासम्मको परिवारले वार्षिक प्रतिपरिवार ३ हजार ५ सय र ५ जनाभन्दा बढी भए प्रति सदस्य ७ सय थप रकम लाग्ने पोखरेलले बताए।
७० वर्षमाथिका जेष्ठ नागरिक, एचआईभी संक्रमित परिवार, एमडीआर क्षयरोगीका परिवार, कुष्ठरोग संक्रमितका परिवार र अति अशक्त अपाङ्गता भएकाको व्यक्तिको परिवारलाई पूर्ण सहुलियत दिने गरिएको स्वास्थ्य बीमा बोर्डले जनाएको छ।