काठमाडौं– द्वन्द्वपीडितले छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पहिचान गरी कारबाहीको माग गर्दै अनशनमा बसेकी गंगामायाको जीवन रक्षाका लागि अपिल गरेका छन्।
गंगामाया २०७७ पुस ६ गते देखि वीर अस्पतालस्थित ट्रमा सेन्टरमा १२औं आमरण अनशनमा छिन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै द्वन्द्व पीडित साझा चौतारीले जीवन रक्षाका लागि अपिल गरेको हो।
अधिकारीको माग सम्बोधनका लागि सरकारका तर्फबाट कुनै पहल नहुनुले समेत सरकार द्वन्द्वबाट पीडित समुदायको पीडा उपर संवेदनशील नभएको चौतारीको विज्ञप्तिमा उल्लेख छ।
द्वन्द्वपीडितहरुले भनेका छन् ‘गंगामायाको आफ्नो छोराको हत्याको निष्पक्ष छानबिन र न्यायको मागप्रति द्वन्द्व पीडित साझा चौतारी एेक्यबद्धता जाहेर गर्दै अनशनरत अधिकारीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहलकदमी लिन सरकारसँग जोडदार माग गर्दछ।’
चौतारीले सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्याय सम्बन्धी ऐन विश्वसनीय प्रक्रियाबाट संशोधन गर्न एवम् सक्षम, निष्पक्ष र स्वतन्त्र आयोग पुनर्गठन गरी आम द्वन्द्वपीडितलाई सत्य, न्याय र परिपूरण प्रदान गर्न सरकारलाई सजग गराएको छ।