काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीमा राजनीतिक चरित्र नै नभएको आरोप लगाएका छन्।
उक्त समूहले आज बुधबार काठमाडौंमा आयोजना गरेको कार्यकर्ता भेलामा उनले भने, ‘केपी ओलीलाई प्रशंसाबाहेक अरु केही मन पर्दैन। अत्यन्तै निरंकुश चरित्र भएको कारण हामीले लडेका हौं। ओलीमा राजनीतिक चरित्र नै छैन। केपी बा भन्ने झुण्ड नै रहेछ।
उनलाई खुट्टा ढोगेर बा भन्नेहरु नै धेरै छन्। आफूसित असहमत हुनेलाई ओलीले शत्रु ठान्ने गर्नुभयो। २०७१ को नवौं महाधिवेशनबाट अध्यक्ष बनेर आएपछि र प्रधानमन्त्री बनेपछि झनै निरंकुश बन्नुभयो।’
आफूहरुले छलफलको माध्यमबाट नै समस्या समाधानका लागि धेरै पटक प्रयास गरेको तर नसकेको उनले बताए। ‘पार्टीलाई बलियो बनाउँ भनेर भनेको हो। पार्टीको नीति र कार्यादिशा अनुसार सरकार अगाडि बढ्नुपर्छ भनेर हामीले भनेको हो। सरकार जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्दा के गल्ती भयो र ?’
अब ओली एक्लो हुने र त्यसपछि उनको असली अवस्था बाहिर आउने नेपालले बताए। ‘अहिले यो कुनै पदको लडाइँ नै होइन, यो त विधि पद्धति मान्ने कि नमान्ने भन्ने विषयको ठूलो लडाइँ हो। संविधानमाथि हमला गरिएको छ। केपी ओलीले ज्ञानेन्द्रले झैं कू गरेका छन्। अहिले संविधानको रक्षा गर्नका लागि सबै सडकमा आउनु जरुरी छ। अहिले हामीमात्रै एक्लै छैनौं, सबै सडकमा आएका छौं,’ उनले भने, ‘एकातिर केपी ओली निरीह भएर उभिएका छन्, अर्कोतिर संविधान जोगाउनेहरु अब संविधानवादको विजय हुनु जरुरी छ।
प्रतिगमनकारीलाई सहज हुने गरेर केपी ओलीले असंवैधानिक कदम चाल्नुभयो।’