आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा नाम र चुनाव चिह्न सूर्य नपाए आँधी–तुफान ल्याउने दाहालको चेतावनी

नेकपा नाम र चुनाव चिह्न सूर्य नपाए आँधी–तुफान ल्याउने दाहालको चेतावनी

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिह्न र नेकपाको आधिकारिकता आफूहरूले  नपाए आँधी तुफान ल्याउने चेतावनी दिएका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले सूर्य चिह्न र नेकपाको आधिकारिकता आफूहरूले  नपाए आँधी तुफान ल्याउने चेतावनी दिएका छन्।

दाहाल–नेपाल समूहको नेकपाको काठमाडौं जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्दै दाहालले भने, ‘हामीले चुनाव चिह्न सूर्य र पार्टीको नाम नेकपा पाएनौं भने आँधी तुफान आउनेछ, सबैलाई चेतावनी दिएर भन्छु। विश्वास गरौं, सवैधानिक निकायले संविधान र कानुन मिच्ने छैनन्।’

दाहालले केन्द्रीय कमिटीमा आफूहरुका पक्षमा ७० प्रतिशत सदस्य रहेको दाबी गर्दै पार्टीको आधिकारिकता पनि आफूहरुले नै पाउने बताए।

उनले भने, 'केही दिनअघि बसेको तेस्रो केन्द्रीय कमिटी बैठकमा ७० प्रतिशत बहुमत छ। हाम्रो नेतृत्वको पार्टी नै आधिकारिक हो। यसमा कसैले शका नगर्न म कार्यकर्तालाई आग्रह गर्न चाह्न्छु।’

उनले ३० प्रतिशत केन्द्रीय सदस्य नरहेको केपी ओलीले आफूहरुलाई भगौडा भनेको भन्दै त्यसको विरोध गरे।

अध्यक्ष दाहालले भने, 'केपी ओलीले हामीलाई भगौडा भन्नुभएछ। हामी ७० प्रतिशतलाई भगौडा भन्ने? जोसित ३० प्रतिशत छैन ऊ रैथाने?’

उनले सविधान मिचेर पार्टीलाई लात हानेर हिँड्ने ओली समूह नै भगौडा रहेको आरोप लगाए। उनले भने, ‘लाज, घिन, सरम केही नभएको व्यक्ति केपी ओली हो।’

उनले पार्टी विधान व्यक्तिलाई सर्वेसर्वा नभनेर बहुमतको निर्णय नै पार्टीको निर्णय हुनेछ भनेर प्रस्ट रहेको बताए।

दाहालले आफूहरू कमेडी सो गर्न र मानिसलाई प्रहसन देखाउन हिँडिरहेको नभई संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षामा लागिपरेको बताए।

उनले भने, ‘निर्ममतापूर्वक लोकतन्त्र र संविधान मास्ने काम भएको छ। अहिलेको अवस्थामा तपाईंहामी सबै गम्भीर बन्नुपर्ने बेला आएको छ। उपलब्धि धरापमा परेको छ।’

उनले प्रधानमन्त्री एवम् नेकपाका अर्का अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनीहरुलाई जोकरको संज्ञा दिए।

दाहालले भने, ‘अर्को समूहको साथीहरुले कमेडी र प्रहसन गरिरहनुभएको छ। ठाउँठाउँमा नौटंकी गर्दै हिँडिरहनुभएको छ। साथीहरूको ताल हेर्दा जोकर जस्तो लाग्छ मलाई त।’

उनले वामगठबन्धन गर्दा छाएको खुसी लामो समय टिक्न नसकेकोमा चिन्ता व्यक्त गरे। यस्तै उनले पार्टी एकता तयारीपूर्वक नै गरिएको स्मरण गरे।

दाहालले भने, 'तत्कालीन दुवै पार्टीका स्थायी र केन्द्रीय कमिटीबाट निर्णय नै गरेर यो भएको हो। हामीले राजनीति कार्यदिशा लगायतका बारेमा सबै कुरो प्रस्ट गरेर नै एकता गरेका थियौं।’ 

उनले विचार र राजनीतिक कार्यदिशामा स्पष्ट भएर नै एकता गरेको बताए। दहालले भने, ‘हतारमा गरिएको एकता थिएन। हाम्रो राजनीतिक प्रतिवेदनमा कुनै द्विविधा छैन। विधान र राजनीति प्रतिवेदन पारित गरेर नै निर्वाचन आयोगमा गएर पेस गरेका थियौं।’

दाहालले सरकारलाई आफूहरुले काम गर्न नदिएको भनेर ओलीले व्यक्त गरेको धारणाको खण्डन गर्दै भने, ‘म ओलीलाई चेतावनी दिन चाह्न्छु, सरकारलाई पार्टीले कहाँ काम गर्न दिएन, एउटा पनि प्रमाण छ तपाईंसित?’

ओलीले पार्टीमा विश्वास लिन नसकेको, पद ओगटेर बसिरहेको र जनताप्रति संवेदनशील हनु नसकेको भनाइ दाहालको थियो। 

यसैगरी दाहालले भारतीय न्युज च्यानल बोलाएर प्रधानमन्त्री ओली झन् नांगिएको बताए। उनले भने, 'अहिले त नांगै देखिएको छ नि जीन्युज बोलाएर के गरे? त्यो त नाटक हो भन्ने त प्रस्ट भइसकेको छ।’

दाहालले पार्टी कमिटी र संसदीय दलमा बहुमत नभएपछि ओली संसद् विघटन गरेको बताए।

उनले भने, ‘उहाँ कुर्सी छाड्नुपर्ने अवस्था आए कुर्सी नै भाँच्छु भन्नुहुन्थ्यो तर संविधान नै भाँच्नुभयो। अहिले उहाँ भाङ खाएर ताण्ड्व नृत्य गरिरहनुभएको छ।’

प्रकाशित: Jan 13, 2021| 09:59 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।