पोखरा– सत्तारुढ नेकपाभित्रको विवादको रापको तापले प्रदेशहरु पनि तातेका छन्। प्रदेश नम्बर १ र बागमतीका सरकार संकटमा परेका छन्। तर गण्डकीमा भने नेपाल दाहाल समूहका मन्त्रीले सरकारबाट नहट्ने बताएपछि मुख्यमन्त्री ढुक्क छन्। त्यसो त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ साना दललाई फकाएर दरिलो ब्याकअप लिएर बसेका छन्।
यति नै बेला गुरुङ सरकारका एक मन्त्री भने आफ्नै बोलीका कारण विवादमा परेका छन्। मंगलबार दिउँसो गण्डकी प्रदेश सभाको मंगलबारको बैठकमा बोल्ने क्रममा आफू संघको चुनाव लड्ने भन्दै मन्त्री खोज्न मुख्यमन्त्रीसँग आग्रह गरेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले साँझपख बोली फेरेका छन्।
उनले दिउँसो सदनमा भनेका थिए, ‘माननीय मुख्यमन्त्री ज्यू, मलाई वैशाखमा चुनाव लड्ने मन छ। अब संघमा जाने हो, हिजो पनि उतै थिएँ, कसलाई ल्याएर राखेर मन्त्रालय चलाउने हो, मन्त्री खोज्नुस्। म चुनावमा जाने हो। तपाईं मेरो पार्टीको इन्चार्ज पनि हो। मलाई संघको टिकट दिनुस्। यो संविधान बचाउनुपर्छ।’
दिउँसो प्रस्टै बोलेका मन्त्रीले आफ्नो भाषणको समाचार मिडियामा आउन थालेपछि साँझपख बोली फेर्न वाध्य भए। सचिवालयमार्फत चलानी नम्बर बिनाको विज्ञप्ति जारी गरेर उनले ‘मध्यावधि निर्वाचन तोकिएकै समयमा हुने हुँदा त्यसका लागि म पनि तयार छु र हजुरहरु पनि तयार हुनुहोस् भन्ने मनसायका साथ प्रदेश सभा बैठकमा आफ्नो अभिव्यक्ति राखेको’ बताए।
प्रदेश सरकारलाई कमजोर बनाउन आफू मन्त्रिपरिषदबाट बाहिरिन नभई प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिएकै समयमा हुन्छ भनी विश्वस्त पार्न उक्त अभिव्यक्ति दिएको विज्ञप्तिमा उल्लेख छ।
उनले सदनमा भनेका थिए, ‘अब म फेरि यो संसदमा आउँछु कि आउँदिन। वैशाखमा चुनाव जितें भने माथि जाउँला। म गइनँ भने पनि केपी ओलीले समर्थन गरेको मान्छे त्यहाँ जान्छ। उसलाई जिताउनुपर्छ। पहिले १२ हजार भोटले जितेको हो, अब १५ हजार भोटले जित्नुपर्छ।’
मुख्यमन्त्री र नेकपाका नेता तथा प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी (प्यासी) आफ्नो प्रेरणाको स्रोत भएको उल्लेख गर्दै मन्त्री लम्सालले आफूले कुनै गल्ती नगरेको दाबी गरे। उनी सोमनाथ प्यासीका छोरी ज्वाइँ हुन्। ‘प्रदेश प्रमुख सोमनाथ प्यासी प्रेरणाको स्रोत हो। उहाँले फोन गरेर काम गर्दा कसैले प्रश्न उठाएको सुन्न नपरोस् भन्नुभएको छ।’
पार्टीभित्रको विवाद बाहिर आउँदैनथियो भने गण्डकीको सरकार फेरबदल हुँदा फालिनेमा मन्त्री लम्साल १ नम्बरमा छन्। भाषण बढी गर्ने र काम नगर्ने छाप बनाएका मन्त्री लम्साल आफू भने निकै राम्रो काम गर्दै आएको दाबी गर्छन्।
होमस्टेलाई पैसा बाँडेको, सचिवालयका कर्मचारी र आसेपासेको सिफारिसका आधारमा आयोजना दिने गरेको, शिलान्यास वा उद्घाटनमा प्रमुख अतिथि बोलाउने ठाउँमा मात्र योजनाको रकम निकासा दिने गरेको आरोप उनीमाथि लागेको छ।
कांग्रेस सांसद मेखलाल श्रेष्ठले बर्खे अधिवेशनकै क्रममा विशेष समय लिएर उनीमाथि गम्भीर आरोप लगाएका थिए। प्रमुख अतिथिका रुपमा नबोलाएकै कारण स्याङ्जामा योजना नपारेको भनी लगाएको आरोपको जवाफ मन्त्री लम्सालले सदनमा दिएका छैनन्।