विराटनगर– नेकपा (दाहाल–नेपाल) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सवारीचालक अनुमतिपत्रको परीक्षा गराउने जिम्मा निजी ट्रायल सेन्टरलाई दिन नहुने बताएको छ।
प्रदेश १ सरकारले निजी ट्रायल सेन्टरलाई परीक्षा गराउने दिने निर्णयको विरोध गर्दै विद्यार्थी संगठनले प्रदेशसभा सचिवालयको ध्यानाकर्षण गराउँदै निर्णय खारेजीको माग गरेको हो।
सार्वजनिक लेखा समितिका सभापति शिवनारायण सिंह गनगाईलाई विद्यार्थी नेता ओसिम आलमको नेतृत्वमा गएको टोलीले निर्णय बदरको माग गर्दै ज्ञापनपत्र बुझाएको छ।
निजी ट्रायल सेन्टरबाट परीक्षा गराउने नाममा ट्रायल सेन्टरहरुमा सिन्डिकेट हुने, सेन्टरबाट जारी हुने प्रमाणपत्र नभएकाले परीक्षामा सामेल हुन नपाउने साथै सेन्टरकै सवारीबाट ट्रायल दिनुपर्ने भएकोले यसको प्रत्यक्ष भार सेवाग्राहीमा पर्ने उल्लेख गरिएको छ।
विद्यार्थीले अदृश्य लाभ लिन योजनाबद्ध ढंगले प्रदेश सरकारले भ्रष्टाचारलाई बढावा दिने मनसायले सो निर्णय गरेको आरोप समेत लगाएका छन्।
ज्ञापनपत्र बुझदै सभापति सिंहले सत्यतथ्य बुझी जनताले सहज रुपमा सेवा पाउने वातावरण निर्माण गर्ने विश्वास दिलाए। प्रदेश १ सरकारले यही पुस १५ गते निजी क्षेत्रका ट्रायल सेन्टरहरुको स्तरोन्नति गर्न भन्दै निजी सेन्टरमा परीक्षा गराउने गरी मातहतका निकायमा परिपत्र गरेको थियो।