काठमाडौं– संसद् विघटनविरुद्ध भइरहेको देशव्यापी प्रदर्शनमा सहभागिता बढाउन नेपाली कांग्रेसले सूचना प्रविधिको उपयोग बढाउने भएको छ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुद्ध विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने निर्णय गरेको हो।
यस्तै बैठकले कोभिड–१९ को विश्वव्यापी महामारी सुरु भएको एक वर्ष व्यतीत हुँदा पनि यसको उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा नराखेर सरकारले नागरिक स्वास्थमा खेलबाड गरेको बैठकले निष्कर्ष निकालेको छ।
सरकारलाई नागरिक जीवनप्रति गम्भीर भइ व्वस्थापन गर्न र विश्व बजारमा आइपुगेको कोभिड—१९ को खोप नेपालमा यथासक्य छिटो भित्र्याएर जनतालाई निःशुल्क उपलब्ध गराउन बैठकले आग्रह गरेको छ।