पर्सा– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले तानाशाही सरकारविरुद्ध नेपाली कांग्रेससँग एकताबद्ध भएर आन्दोलन गर्ने बताएका छन्।
पार्टीको कार्यक्रममा भाग लिन वीरगन्ज आइपुगेका यादवले आज मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा संवैधानिक कार्यलाई नै ओझेलमा पारेर राजनीतिक संकट निम्त्याएको केपी ओली सरकारविरुद्ध एकताबद्ध भएर आन्दोलन गर्न सकिने बताए।
सर्वोच्च अदालतले समाधान गर्नै नसक्ने राजनीतिक विवादको समाधान संवादबाट मात्रै सम्भव रहेको उनको तर्क थियो। संघीयताको रक्षाका लागि अहिलेको विरोध तथा दबाब कार्यक्रमहरु भइरहेको उनले बताए। चुनाव हुन्छ भन्ने विश्वास नभएकाले अहिलेको विरोध कार्यक्रम असंवैधानिक र अलोकतान्त्रिक कदम उठाएर मुलुकलाई प्रतिगमनतर्फ धकेल्न खोज्ने कामविरुद्ध रहेको उनको भनाइ थियो।
सर्वोच्चले ओलीको पक्षमा फैसला गरे पनि राजा ज्ञानेन्द्र शाहले गराएको जस्तो चुनाव आफूहरुलाई मान्य नहुने अध्यक्ष यादवले बताए।