सप्तरी- सप्तरीको खडक नगरपालिका ४ अमहामा शनिबार बिहान करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ।
दैनिकरुपमा हात्ती आउने गरेकाले रातिको समयमा स्थानीयले हात्ती धपाउन बिछ्याएको विद्युतीय तारमा परेर भाले हात्तीको मृत्यु भएको डिभिजन वन कार्यालय सप्तरीका रेन्जर लक्ष्मण साफीले जानकारी दिए।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको हात्ती खडक नगरपालिकाको बस्तीमा पस्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले बताए। हात्तीको मृत्युको घटनाबारे बुझ्न आज बिहान कोशी टप्पु वन्यजन्तु आरक्षबाट एक टोली त्यहाँ आउन लागेको वन कार्यालयले जनाएको छ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक आउने हात्तीका कारण सो क्षेत्रका बासिन्दा रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ। सो क्षेत्र मात्र नभई जिल्लाको पश्चिमी, उत्तरी र पूर्व भेगमा समेत कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्कने हात्तीका कारण दैनिक आतंक हुने गर्छ।