काठमाडौं- विज्ञहरुको अनुमतिबिना नै एन्टिजेन खरिदको लागि तयार भएको सरकार तत्काल एन्टिजेन नकिन्ने निष्कर्षमा पुगेको छ।
एन्टिजेन खरिदको लागि पुस १२ मा स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले कोरोना भाइरस परीक्षणका लागि करिब ३६ करोड मूल्य बराबरको तीन लाख एन्टिजेन किट खरिदको लागि टेण्डर आह्वान गरेको थियो। टेण्डर खुल्ला हुने मिति पुस २४ (आज) सम्म थियो तर विभागले पुस २३ मा नै टेण्डर प्रक्रिया स्थगित गरेको हो।
टेडर रद्ध गरिएको विषयमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले अनुदानमा एन्टिजेन किट प्राप्त भएकाले हालको लागि एन्टिजेन खरिद प्रक्रिया स्थगित गरेको बताए।
श्रेष्ठले भने, ‘पुस महिनाभर ३ लाख परीक्षण गर्ने उदेश्यले किट खरिद गर्न लागिएको थियो तर युएनडिपी, युनिसेफ, विश्व स्वास्थ्य संगठन, गैरआवासीय नेपाली संघ (जापान) लगायतले उपलब्ध गराएको किट बाँकी भएकाले टेण्डर हालको लागि स्थगित गरिएको हो, हामीसँग २ लाख किट बाँकी नै छ, १ लाख किट युनडिपीबाट अनुदानमा आउने तयारी छ।’
तत्कालको लागि आवश्यक किट उपलब्ध भएकाले अहिले खरिद नगर्ने निर्णय भएकाले स्थगित गरिएको श्रेष्ठले नेपालसमयलाई जानकारी दिए। उनले एन्टिजेन्ट किट लामो समयसम्म राखेर प्रयोग गर्न नमिल्ने भएकाले स्टक सकिएपछि किन्ने बताए।
सरकारले पुसमा ३ लाख जनाको एन्टिजेन परीक्षण गर्ने तयारी गरेको थियो। तर विज्ञहरुले भने एन्टिजेन परीक्षणको आलोचना गर्दै आएका थिए। यसअघिको र्यापिड किट गुणस्तरीय नभएकाले विज्ञहरुले अन्य र्यापिड किटलाई प्रोत्साहन दिनुभन्दा पीसीआर परीक्षण गर्नु उपयुक्त भएको बताएका थिए।