भैरहवा– नेकपा रुपन्देहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको एक प्रति पठाएको छ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले संविधानको अध्ययन नगरी संसद् विघटन गरेको भन्दै नेकपा रुपन्देही (दाहाल–नेपाल समूह)ले जिल्ला प्रसाशनमार्फत प्रधानमन्त्रीलाई संविधान पठाएको हो।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई संविधानको पुस्तक हस्तान्तरण गर्नुअगाडि नेकपाका नेता–कार्यकर्ताले भैरहवा बजारमा सरकारको विरोध गर्दै नाराबाजीसमेत गरेका थिए।
युवा विद्यार्थीहरुले टाउकोमा विरोधधस्वरुप कालो पट्टी बाँधेका थिए। उनीहरुले करिब एक घण्टा जिल्ला प्रशासन कार्यालय अगाडि नाराजुलुस सहित धर्ना दिएका थिए।
‘संविधानमा भएको व्यववस्था राम्रोसँग पढ्नको लागि हामीले प्रधानमन्त्रीलाई संविधानको पुस्तक पठाएका छौंं। उहाँले संविधानको अध्ययन नै नगरी असंवैधानिक कदम चाल्नुभयो। उहाँले यो पुस्तक पढेपछि बल्ल थाहा पाउनुहुनेछ कि आफूले कहाँ गल्ति गरेँ भन्ने,’ नेकपाका नेता पुरुषोत्तम घिमिरले भने।
आफ्नै पार्टीका अध्यक्षविरुद्ध बाध्य भएर आन्दोलन गर्नुपरेको नेकपा केन्द्रीय सदस्य वामदेव क्षेत्रीले बताए।