काठमाडौं– नेपाल वायुसेवा निगमले पुस २७ मा हङकङ जाने यात्रुलाई अनिवार्य रुपमा पीसीआर नेगेटिभ रिपोर्ट बुझाउन अनुरोध गरेको छ।
निगमले सूचना जारी गर्दै नेपाल वायुसेवाको उडानमार्फन जनवरी ११ मा हङकङ प्रस्थान गर्ने यात्रुलाई उडान समयपूर्वको ४८ घण्टाभित्रको पीसीआर रिपोर्ट बुझाउन अनुरोध गरेको हो।
निगमको जहाजमा उक्त दिन हङकङ जान लागेका यात्रुले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुबाट पीसीआर गराई रिपोर्ट लिनुपर्नेछ।
यात्रुले पीसीआर परीक्षणको नेगेटिभ नतिजाको प्रमाणपत्र बुझाएमा मात्रै उडान गर्न पाउने निगमले जनाएको छ।
पछिल्लो समय निजी प्रयोगशालामा परीक्षण गर्दा कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि विदेशमा पुनः परीक्षण गर्दा पोजेटिभ आएपछि सरकारले सरकारी प्रयोगशालाको रिपोर्ट मात्रै मान्य हुने निर्णय गरेको छ।
सोहीअनुसार निगमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराएको रिपोर्ट पेस गर्न अनुरोध गरेको हो।