नेपालगञ्ज। बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सुरु भएको छ।
झण्डै १० वर्षको प्रतीक्षापछि बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा एकीकृत भन्सार जाँचचौकीको निर्माण कार्य सुरु भएको हो।
भारतीय सिमानासँग जोडिएको नेपालगञ्ज उपमहानगरपालिका–१६, जयसपुरमा उक्त चौकीको निर्माण हुन लागेको छ।
भारततर्फ भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको छ भने नेपालतर्फ जग खन्ने र बाटो बनाउने काम भइरहेको छ।
निर्माणअन्तर्गत अहिले पूर्वाधार निर्माणका लागि कामदार र डोजर, टिपर २४ सै घण्टा सञ्चालन भइरहेका छन्।
भारत र नेपालबीच भएको सम्झौताबमोजिम जयसपुरमा एकीकृत भन्सार जाँचचौकी बन्न लागेको हो।
जाँचचौकी निर्माणका लागि नेपाल सरकारले झण्डै ९१ बिघा जमिन अधिग्रहण गरिसकेको छ। अधिग्रहण गरिएको कुल जग्गामध्ये ६७ बिघामा भारत सरकारले कार्यालय, गोदामलगायतका संरचना निर्माण गर्ने र बाँकी २४ बिघा जग्गा बाटोका लागि छुट्याइएको छ।
सो जाँचचौकी निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी, व्यापारीको बुझाइ छ। जाँचचौकीमा मालसामान आयात–निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालय स्थापना हुने नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले बताए।
आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनियर होमनाथ भुसालका अनुसार नेपालले सुरक्षाकर्मीका लागि केही संरचना निर्माण गर्ने दुई मुलुकबीचको सम्झौतामा उल्लेख गरिएको छ। जाँचचौकी निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारको तर्फबाट हुने सम्झौता भएको जनाइएको छ।
इञ्जिनियर भुसालले जाँचचौकी निर्माणका लागि झण्डै एक अर्ब ३६ करोड भारतीय रूपैयाँ छुट्याइएको बताए। आवश्यकताअनुसार रकममा थपघट हुन सक्ने उनको भनाइ छ। रासस