धनगढी- धनगढीमा आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट आउन थालेको छ। एन्टिजेन परीक्षणबाट आधा घण्टाभित्रमा कोरोना भाइरस परीक्षण रिपोर्ट आउन थालेको हो।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीले एन्टिजेन परीक्षण मार्फत् आधा घण्टामै कोरोना परीक्षणको रिपोर्ट आउन थालेको जनाएको छ।
धनगढीमा आइतबारदेखि एन्टिजेन परीक्षण सुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका ल्याब टेक्निसियन निरीक्षक दीपक जोशीका अनुसार हालसम्म २८ जनाको परीक्षण भएको छ।
२१ पुरुष र ७ महिला परीक्षण गरीएकोमा पाँच पुरुष र एक महिलाको रिपोर्ट पोजेटिभ आएको जोशीले बताए। हाल गरिँदै आएको पीसीआर विधि जस्तै विश्वासिलो विधि एन्टिजेन रहेकोले धनगढीमा पनि परीक्षण थालिएको जोशीले बताए।
उनले हाल लक्षण देखिएका तथा कन्ट्याक ट्रेसिङमा परेकालाई परीक्षण गरिरहेको बताए। स्वास्थ्य कार्यालय धनगढीमा बिहान ११ बजेदेखि नाम दर्ता र त्यसपछि परीक्षण गरिँदै आएको उनले बताए।
नयाँ संक्रमित पत्ता लगाउन र संक्रमणको सम्भावित महामारी नियन्त्रणका लागि एन्टिजेन परीक्षण थालिएको हो। जोशीले भने, ‘संक्रमण पुष्टि भएका व्यक्तिलाई तत्कालै आइसोलेसनमा राखिन्छ।’ कैलालीका सबै पालिकाहरुमा १०० का दरले एन्टिजेन टेष्ट किट पठाइसकिएको जोशीले जानकारी दिए। उनका अनुसार गोदावरी नगरपालिकाले सुरु गरीसकेको छ।
यो विधिबाट परीक्षण गरेको आधा घण्टाभित्र नतिजा आउने भएकोले दुई दिनसम्म कुर्नुपर्ने समस्याको अन्त्य भएको जोशीले बताए।
के हो एन्टिजेन परीक्षण
जोशीका अनुसार एन्टिजेन परीक्षणका लागि नाक, घाँटीबाट स्वाब लिने गरिन्छ। स्वाबमा भाइरसको मात्रा धेरै भए मात्रै संक्रमण देखाउन सक्छ। परीक्षणबाट शरीरमा कोरोना भाइरसको प्रोटिन पत्ता लगाउन सकिन्छ। एन्टिजेन परीक्षणले सक्रिय संक्रमणको अवस्थालाई संकेत गर्दछ।
जोशीले भने, ‘यो विधिमा प्रयोगशालाको आवश्यकता पर्दैन, परीक्षण गर्दा सरल र सहज हुन्छ।’
पीसीआरको तुलनामा एन्टिजेन परीक्षण सस्तो पर्ने जोशीले बताए। ‘फिल्ड’ मा गएर ‘मास स्केल’ मा परीक्षण गर्न सजिलो हुन्छ। यसबाट समुदायमा संक्रमणको अवस्था पत्ता लगाउन सकिने हुँदा कोरोनाभाइरसको कडा लक्षण भएकालाई तत्काल पहिचान गरी छुट्टै राख्न सहयोग मिल्छ। पीसीआर परीक्षणको नतिजा आठ घण्टामा आउँछ जोशीले भने, एन्टिजेन परीक्षणको नतिजा १५ देखि ३० मिनेटमा प्राप्त हुन्छ।