जनकपुरधाम- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मालपोत कार्यालयका नायब सुब्बासहित दुई जनालाई घुससहित नियन्त्रणमा लिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले मालपोत कार्यालय हरिवनका नायव सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी हरिवन नगरपालिका वडा नं. २ का राम सुन्दर महतोलाई ११ हजार घुससहित नियन्त्रणमा लिएको हो।
जग्गाधनी दर्ता प्रमाण पत्र लालपुर्जामा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको सूचना एवम् उजुरीको आधारमा बर्दिवासबाट गएको टोलीले नियन्त्रणमा लिएको हो।
लेखापढी व्यवसायी महतोलाई सेवाग्राहीबाट ११ हजार रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको र नायब सुब्बा बराललाई मालपोत कार्यालय, हरिवन, सर्लाहीबाट नियन्त्रणमा लिएका हो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ अख्तियारको कार्यालय बर्दिबासले जनाएको छ।