आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने प्लान होला भन्ने सोचेको थिइनँ : वामदेव गौतम

अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने प्लान होला भन्ने सोचेको थिइनँ : वामदेव गौतम

तीन वर्षमा पार्टी विभाजन गर्नुथियो भने एकता किन गरेकोे ? पार्टीभित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो मुर्खता हो।
 |  बिहीबार, पुस २३, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २३, २०७७

आफ्नो जीवनकालमा म पहिलो पटक राष्ट्रिय सभाको सदस्य भएको छु। अघिल्लो बैठकमा उपस्थित भएँ, आजको बैठकमा बोल्न पाएको छु। 

राष्ट्रिय सभामा मनोनित गर्ने राष्ट्रपति, प्रधानमन्त्री र त्यो बेलाको पार्टीका सबै नेताहरुलाई धन्यवाद दिन्छु। संसदमा नबोलेको तीन वर्ष भइसकेछ, बोल्न पनि बिर्सन थालेँछु। ७३ वर्षको भएँ। यसमा ७ वर्ष घटाएर बाँकी जीवन कम्युनिस्ट आन्दोलनमा समर्पित गरेको छु।  

आज म खुसी हुनुपर्ने हो, तर छैन। मैले आफ्नो जीवनको सबैभन्दा ठूलो उद्देश्य घोषणा गरेको छु। गणतन्त्र नेपालको स्थापना गर्ने कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न सकेँ भने ठूलो उपलब्धि हुनेछ। समृद्ध नेपाल बनाउन सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्न सकियो भने उपलब्धि हुनेछ। त्यो पनि प्राप्त गरेँ भने कम्युनिस्ट आन्दोलनमा लागेबापत मलाई कसैले पनि धिक्कार्ने छैन। म सानैदेखि यो आन्दोलनमा लाग्दा मानिसहरुले खिसिट्युरी गर्थे। आमाबुवा, नातागोता कांग्रेस हुनुहुन्थ्यो। त्यस्तो बेलादेखि म कम्युनिस्ट आन्दोलनमा लागेको हुँ।  

कस्ताकस्ता नेताले नेताले, विपी कोइरालाले केही गर्न सकेन, यो फुच्चेले राजा फाल्छ भन्छ भनेर बुवाले भन्नुहुन्थ्यो। बाको अघि केही बोल्न सक्दैनथेँ। म लुकेर मात्रै आफ्नो विचार राख्थेँ। राजतन्त्र फालेर गणतन्त्र स्थापना हुँदा बुवा बाँचेको भए के भन्नुहुन्थ्यो होला भनेर सोच्थेँ। नेपाली जनताले माया र सम्मान दिएका छन्, अभार व्यक्त गर्दछु। तर हाम्रो पार्टी आज विभाजित छ।

विभाजनको कुनै औचित्य देख्दिनँ। पार्टी एकतापछि पार्टी सचिवालयको सदस्यका नाताले धेरै विषय उठाएँ। नेताहरुका कार्यशैलीको सुधारको पहल गरेँ। तर सुधार हुन सकेन। म विभिन्न कारणले विरोधीजस्तो भएर प्रकट भएँ। मैले अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो प्लान होला भन्ने सोचेको थिइनँ। विगत ८–९ महिनादेखि आलोचना गर्ने समूहमा बसेर पनि अविश्वासको प्रस्ताव असफल बनाउन लागेका थिए। पार्टीमा आरोप–प्रत्यारोपका पत्रहरु आउँदा यो एउटा सुधारका निम्ति उपाय हुन सक्छ भनेर लागेको थिएँ।

अविश्वासको प्रस्तावबारे मलाई सोधिएन। प्रधानमन्त्रीको म कटु आलोचक हुँ। उहाँको कार्यशैलीले नै विवाद उत्पन्न गराएको हो। उहाँ मेरो ४३ वर्षदेखिको सहयोद्धा पनि हो। मैले शैली सुधार गर्नुपर्छ भनेर धेरै पटक भनेको थिएँ। प्रधानमन्त्री २ पटक हुनुभयो। मैले सुझाव दिएँ। कति ग्रहण गर्नुभयो, कति लिनुभएन। उहाँले मलाई मित्रको रुपमा सम्मान गर्नुहुन्छ। यो पटक प्रतिनिधिसभा भंग गर्दा सोध्नुभएन।

अत्यन्त कठिन परिस्थितिमा हामी एक ठाउँमा छौं। तर सोध्नुभएन। अविश्वासको प्रस्तावबाट प्रधानमन्त्रीबाट बर्खास्त गर्नुभष्यो भने दुर्भाग्यपूर्ण हुनेछ भन्नुहुन्थ्यो। अल्पमतमा पर्दा राजीनामा दिनुपर्छ। म त्यो ठाउँमा भएको भए अविश्वासको प्रस्ताव आउनुभन्दा अघि नै राजीनामा दिन्थेँ। मेहनत गरेर बनाएको पार्टी जोगिन्थ्यो। आगामी दिनमा आन्दोलन अघि बढाउन चाहनेका लागि शिक्षा दिन्थ्यो।  

मैले यो असंवैधानिक कदम हो भनेँ। सर्वोच्च अदालतले पुनर्स्थापना गर्यो भने म असंवैधानिक भन्दिनँ। संवैधानिक विषय हुनाले साधारण इजालसबाट टुंगो लगाउन मिल्दैन भनेपछि जहाँ बोले पनि विचार गर्नुपर्छ। असंवैधानिक छ भन्यो भने सर्वोच्चको राजनीतिक रुपमा अपमान हुन्छ। 

जबजलाई एमालेले सिद्धान्त बनाएको थियो। आज त्यो निलम्बन जस्तो भएको छ। म त्यसको व्याख्याता हो। मदन भण्डारीपछि धेरै लेख्ने र प्रशिक्षण दिने मै हुँ। हामीले संविधानको सर्वोच्चतालाई मूल बनाएका छौं। हामी संविधानको सर्वोच्चतालाई मान्छौं र त्यसको पालना गर्छौं। आफूले भनेबमोजिम भएन भनेर संविधानलाई बदनाम गर्न हुँदैन।

आज हाम्रो पार्टी दुई खेमामा विभाजित छ। तीन वर्षमा पार्टी विभाजन गर्नुथियो भने एकता किन गरेकोे ? पार्टीभित्र अन्तरविरोध हुँदैन भनेर कसैले भन्छ भने त्यो मुर्खता हो। पार्टीको जीवन अन्तरपार्टी संघर्षमा हुन्छ। अन्तरविरोध, संघर्षबाट राजनीतिक पार्टी मुक्त गर्न सक्दैन। नेताहरुले त्यसलाई समाधान गर्नुपर्छ। समाधान दिँदा पार्टीलाई नयाँ जीवन प्राप्त हुन्छ।

राजनीतिक रुपमा पार्टी विभाजित छ। तर पार्टी कानुनी रुपमा के हुन्छ थाहा छैन। म फेरि एकता गर्न सकिन्छ कि भनेर लागिरहेको छु। पार्टी एकता अपरिहार्य छ। दुई समूूहका मुख्य नेताहरु लाज लाग्ने गरी उत्रनुभएको छ।

(नेकपा उपाध्यक्षसमेत रहेका गौतमले आज बिहीबारको राष्ट्रिय सभा बैठकमा व्यक्त गरेको विचारको सम्पादित अंश) 
 

प्रकाशित: Jan 07, 2021| 07:57 बिहीबार, पुस २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।