सुर्खेत– रोग, भोग र अभावले तड्पिएको कर्णालीमा विकास निर्माणले भर्खर बामे सर्न थालेको छ। उद्योगधन्दा अझै न्यून नै छन्। बहुराष्ट्रिय कम्पनीहरुले कर्णालीमा पाइला नै टेकेका छैनन्। जसका कारण कर्णालीका अधिकांश नागरिक बेरोजगार छन्। हुम्ला र डोल्पाका विकट बस्तीमा मात्रै होइन, कर्णालीको राजधानी वीरेन्द्रनगरमै ६८ हजारभन्दा बढी नागरिक बेरोजगार रहेको एक तथ्याङ्कले देखाएको छ।
नेपाल इकोनोमिक फोरमले गरेको अध्ययनअनुसार वीरेन्द्रनगर नगरपालिकामा ९५ हजार ३३१ जना नागरिक रोजगारी गर्ने उमेर समूहका छन्।
तीमध्ये २६ हजार ६२१ जनामात्रै कुनै न कुनै रुपले रोजगारीमा जोडिएका छन्। बाँकी ६८ हजार ७१० जना बेरोजगार छन्।
वीरेन्द्रनगरमा निजी क्षेत्रको उपस्थिति न्यून रहेका कारण धेरै मानिस बेरोजगार हुनुपरेको तथ्याङ्कले औल्याएको छ। रोजगारी सिर्जना गर्न प्रदेशले निजी क्षेत्रको सहभागिता बढाउनुपर्ने, बैंक तथा वित्तीय संस्थामा नागरिकको पहुँच बढाउनुपर्ने र अन्तर्राष्ट्रिय लगानी भित्र्याउनुपर्ने अध्ययनले औंल्याएको छ। नेपाल इकोनोमिक फोरमले गरेको अध्ययन नगरपालिकासँगको सहकार्यमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
नगरपालिकाको तथ्याङ्कअनुसार हालसम्म वीरेन्द्रनगरमा २२ सय ७० वटा उद्योग छन्। यीमध्ये २२१ वटा उत्पादनमूलक, १ हजार २६८ वटा सेवामूलक, ६ वटा पर्यटनमूलक र अन्य ५३१ वटन छन्। आर्थिक क्षेत्रको मेरुदण्ड मानिने निजी क्षेत्रको सहभागिता कम भएका कारण बेरोजगारको दर उच्च रहेको नगरपालिका उपप्रमुख मोहनमाया ढकालले बताइन्।
रोजगारी सिर्जना गर्न नगरपालिकाले हरेक वर्ष विभिन्न सीप तथा तालिम दिँदै आएको छ। गत वर्षमात्रै नगरपालिकाले न्यून आय भएका १३ जना महिलालाई तीन महिने अटो रिक्सा चालक तालिम र खरिदमा सहयोग गरेको थियो। तालिममा सहभागी १३ जना महिलालाई एक लाख अनुुदान, एक लाख विना व्याजमा ऋण उपलब्ध गराएको थियो। हाल तालिम लिएका सबैले अटोरिक्सा चलाएर आत्मनिर्भर बनेको नगरपालिकाको दाबी छ।