भैरहवा- नेकपाको दाहाल–नेपाल पक्षीय नेता घनश्याम भुसालले प्रतिनिधिसभा पुनर्स्थापना भएन भने संविधान नै संकटमा पर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै उनले सर्वोच्च अदालतबाट पुनर्स्थापना हुने र यदि भएन भने यसले संविधान नै संकटमा पर्ने जोखिम रहेको बताएका हन्।
गृह जिल्ला रुपन्देहीमा प्रेस संगठनका नेताहरु छलफल गदै उनले संसद पुनर्स्थापना नभए हिजो संविधान मान्दैनौ भन्ने शक्तिहरुले संविधानको पाना च्यात्ने सम्भावना स्वतः बढ्ने चेतावनी पनि दिए।
उनले भने, ‘यो संविधान धेरै संघर्ष र बलिदानबाट प्राप्त भएको हो। संसद विघटन संविधान विपरित छ, अदालतले त्यसलाई पुनर्स्थापना गरेन भने त्यसले संविधानलाई नै संकटमा पुर्याउँछ। ’
नेता भुसालले मुलुक अस्थिरताकै कारण समस्याग्रस्त भइरहेका बेला जनताले दिएको पाँच वर्षको स्थायी सरकारको म्यान्डेट विपरीत कम्युनिष्ट पार्टीका कार्यकर्ता अस्थिरताको पक्षपोषणमा लाग्नु बिडम्बनापूर्ण भएको बताए।
यसैबीच नेकपा निकट पत्रकारहरुको संस्था प्रेस संगठन रुपन्देहीले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक भएको बताएका छन्।
भुसालको उपस्थिीतिमा बुटवलमा सम्पन्न भेलाले प्रतिनिधीसभा विघटन असंवैधानिक कदम भएको निष्कर्ष निकालेको हो।