काठमाडौं- नेकपाको ओली पक्षका नेता शंकर पोखरेलले प्रतिनिधिसभा विघटन हुनुको कारक आफ्नै पार्टीका सांसदहरु रहेको बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेलले प्रतिनिधिसभा विघटनको कारणबारे स्पष्ट पार्ने प्रयास गरेका छन्।
‘नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?’ भन्ने प्रश्न राख्दै उनले यस सम्बन्धमा प्रतिनिसभाको सान्दर्भिकता गुमाउनमा आफ्नै पार्टीका सांसदहरुको भूमिका गलत रहेको बताएका हुन्।
साथै उनले सरकारको बिजनेश सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले पनि प्रतिनिधिसभाको सान्दर्भिकता गुमेको जिकिर गरेका छन्।
यस्तो छ उनको स्पोष्टोक्ति
नेकपाको झण्डै दुई तिहाइको उपस्थिति रहेको प्रतिनिधि सभाले आफ्नो सान्दर्भिकता कसरी गुमायो ?
सरकारको विजनेश सभामुखवाट अवान्छित रुपमा लामो समय रोकेर राख्नाले,
सरकारवाट प्रस्तुत भएका विधेयकहरुमा सत्तापक्षकै समितिका सभापति र सांसदहरुको असहयोग रहनाले,
विधेयका सन्दर्भमा संसदीय समितिले गरेको निर्णयमा विभागीय मन्त्रीले नै असहमति राख्ने विडम्वनापूर्ण अवस्था सिर्जना हुनुले,
सत्तापक्षका प्रतिनिधिसभाका सदस्यहरु दलीय अनुशासनभन्दा बाहिर गएर प्रतिनिधिसभामा प्रस्तुत हुनाले,
पार्टी र संसदीय दलको निर्णय बेगर विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा औपचारिक रुपमा समावेदन दर्ता गर्न जानुले,
पार्टी र दलमा औपचारिक प्रस्तावसमेत नराखी प्रधानमन्त्रीविरुद्ध संसदीय पद्धति र परम्परा विपरित अविश्वासको प्रस्तावका लागि हस्ताक्षर संकलन गर्नाले,
पार्टी एकता भएको लामो समयसम्म पनि पूर्व समूहका संसदीय दललाइ एकीकृत गर्न तयार नहुनाले।
पार्टीभित्रको अन्तरद्वन्द्व र प्रथम अध्यक्षका विरुद्धको गम्भीर षड्यन्त्रका साथै प्रतिनिधिसभामा सत्तापक्षको यो हविगत पनि प्रतिनिधिसभा विघटनको आधार तथा कारण वन्न पुुग्यो।
प्रतिनिधिसभा विघटनका लागि प्रधानमन्त्रीलाई औला देखाउनुहुने माननीयज्यूहरुले औँला देखाउनुपूर्व यसबीचमा आफूहरुले खेलेको यस प्रकारको भूमिकाका वारेमा पनि आत्मसमीक्षा गर्ने कि !