विराटनगर- सुनसरीको दुहवी ५ का स्थानीय बासिन्दाले ‘बिल्टअप एरिया’ घोषित क्षेत्रमा सडक विस्तार नगर्न माग गरेका छन्।
त्रि–देशीय लाइफलाइनले चिनिएको कोशी राजमार्ग ‘रानी–विराटनगर–इटहरी–धरान’ ६ लेन सडक विस्तार गर्न नदिने सुनसरीको दुहवी बजार क्षेत्रका स्थानीय बासिन्दाले बताएका छन्। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गरी २०५४ चैत ३ गते बिल्टअप एरिया (विशेष क्षेत्र) राजपत्रमा प्रकाशित भएको स्थानीय बीपी रौनियारले बताए।
दुहवी बिल्टअप एरिया संघर्ष समितिका सहसंयोजकसमेत रहेका उनले गत पुस १८ गते घरटहरा भत्काउन निकालिएको सूचना खारेजीको माग गरेका छन्।
उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयले सुनसरीको दुहवी बजार क्षेत्रको २ किलोमिटर दूरीका घरटहरा हटाउन पाँच दिन अगाडि सूचना जारी गरेको थियो। बुढीखोलाको पुलदेखि दुई किलोमिटर क्षेत्रमा अहिलेसम्म सडक विस्तारको लागि बोलपत्र आह्वान गरिएको छैन। दुहबी बजार क्षेत्रको ६३० मिटर दूरीका लागि तत्कालीन सरकारले एउटा सुविधा दिने निर्णय गर्यो, जसको समस्या अहिले बारम्बार दोहोरिने गरेको हो।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा पुस १७ गते स्थानीय तह दुहवी नगरपालिकाका प्रतिनिधि समेतको उपस्थितिमा बसेको बैठकले दुहबी बजार क्षेत्रको दुई किलोमिटर दूरीमा सडक विस्तारका लागि बोलपत्र आह्वान गर्ने निर्णय गरेको थियो। त्यसको भोलिपल्ट १८ गते सडक विस्तारका लागि आवश्यक पर्ने सडक सीमा खाली गरिदिन आग्रह गर्दै सूचना जारी गरिएको हो।
स्थानीय शंकर रौनियारले अन्तराष्ट्रिय राजमार्गलाई बजार क्षेत्रबाट विस्तार गर्दा बारम्बार समस्या उत्पन्न हुने भएकोले अहिले विकल्पमा जानुपर्ने बताए। सडक विस्तार आयोजनाले समेत मुख्य बजारबाहेक तीनवटा विकल्पको गुरुयोजना तयार पारेको बताउँदै रौनियारले विस्तारित बजारको सुरक्षा सरकारले गर्नुपर्ने बताए। व्यापारिक राजमार्ग समेत नामाकरण गरिएको रानी–किमाथांका सडकको पहिलो खण्ड रानी–तरहरासम्मको ३४.६ किलोमिटर दूरीमध्ये ३२.६ किलोमिटर दूरीको काम अन्तिम चरणतर्फ उन्मुख रहेको छ।
६ लेन सडक विस्तार आयोजनाका प्रमुख बद्रीप्रसाद शर्माले दुहवी नगरपालिका क्षेत्रको दुई किलोमिटर क्षेत्रमा सडक विस्तार गरिनुपर्ने माग स्थानीयबाटै उठेको बताए। बोलपत्र आह्वान गर्नुपूर्व ‘साइड क्लियर’ गराउन प्रक्रिया बढाएका हौँ, सडक सीमा क्षेत्र भित्रका संरचना हटाउने काम स्थानीय प्रशासन र स्थानीय तहले गर्नु उनले बताए।
सडक विस्तार सुरु हुँदा दुहवीको यो क्षेत्रमा १५३ घर थिए। अहिले सरकारसँग बार्गेनिङ बढाउँदै लगेका स्थानीयको २५४ घर देखाउन थालेका छन्।