काठमाडौं– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराजा ज्ञानेन्द्र शाह झैं विदाइ हुने बताएका छन्।
बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले बानेश्वरमा आयोजना गरेको अन्तरपार्टी कार्यक्रममा बोल्दै रिजालले पूर्वराजा ज्ञानेन्द्र झैं ओलीको विदाइ चाँडै हुने बताएका हुन्।
उनले नियम र कानुन मान्नु पर्दैन भन्नेहरु इतिहासमा कहिलै नटिकेको बताउँदै ओली निरंकुश शासक मध्ये एक भएको टिप्पणी गरे।
ओलीले संविधानको एउटा पांग्रो भत्काएको रिजालको भनाइ छ। उनले भने, ‘आफूलाई मन नपर्दैमा भत्काउँदै जाने हो भने संविधानमा केही पनि बाँकी रहँदैन।’
वैशाखमा निर्वाचन गर्नको लागि मिति घोषणा नगरिएको रिजालको भनाइ छ।
संविधान निर्माणका बेला संसद् विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई दिन नहुने अडान एमाले र माओवादीले नै लिएको रिजालले स्मरण गरे।