विराटनगर– प्रदेश १ मा कोरोनाका सक्रिय संक्रमित ४१० जना छन्।
सक्रियमध्ये ३९१ जना होमआइसोलेसनमा, सात जना नोबेल मेडिकल कलेजमा, चार जना विराट मेडिकल कलेजमा, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन–तीन जना, कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा दुई जना उपचाररत रहेको सामाजिक विकास मन्त्रालय कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समितिका संयोजक डा. रवीन्द्र निरौलाले बताए।
उनका अनुसार अस्पतालमा उपचाररतमध्ये पाँच जना आईसीयू र १४ जना सामान्य बेडमा छन्। प्रदेशमा २९ हजार ९२८ जना संक्रमितमध्ये २९ हजार ५६ जना कोरोनामुक्त भएका छन्। संक्रमण देखिएका ४६२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार हालसम्म दुई लाख १० हजार ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो समय स्वाब परीक्षण असाध्यै कम हुन थालेकाे प्रदेश १ जनस्वास्थ्य ल्यावका सूचना अधिकारी प्रकाश कार्कीले बताए। दैनिक ९०० सम्मको परीक्षण गरेको प्रयोगशालामा अहिले २० जनाको पनि परीक्षण हुन छाडेको कार्कीले बताए।