कञ्चनपुर– बयर टिप्न वन क्षेत्रमा गएर हराएका भीमदत्त नगरपालिका ९ खल्लाका हजुरआमा (बज्यै) र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ।
सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी ६ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताए।
आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले हजुरआमा र नातिनीलाई मंगलबार साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको छ।
यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका ६ चानदेउबाट मंगलबार एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ।
बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ।