काठमाडौं- नागरिक समाजका अगुवा एवं राजनीतिक प्राध्यापक कृष्ण खनालले मुलुक नै जोडिएको संसद् विघटनकाे मुद्दामा अदालतबाट किन ढिलाइ भइरहेको छ भन्दै प्रश्न गरेका छन्।
काठमाडौंमा मंगलबार जनता समाजवादी पार्टी नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक कार्यक्रममा उनले मुद्दा टुंग्याउन अदालतले गरिरहेको ढिलाइका विषयमा प्रश्न उठाएका हुन्।
‘सिंगो मुलुक नै जोडिएको मुद्दामा २४ सै घन्टा बहस हुनुपर्ने विषय हो,’ उनले भने।
उनले एक मिनेट पनि पर्खिन नसकिने भन्दै मुलुकलाई दुर्घटनामा लैजान चालिएको कदममा अदालत साक्षी बस्न नमिल्ने बताए।
खनालले अदालतको एक प्रक्रिया भए पनि जनताले त्यसमा छिटो सुनुवाइ चाहेको बताए।
‘जनता अदालतभन्दा अगाडि छन्, प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध व्यापक एकता भएको छ,’ उनले भने, ‘सबैले यो कदम गलत हो भनिरहेका बेला अदालतलाई यो भन्दा अन्य प्रमाण के चाहिन्छ ? यसमा ढिलाइ गर्न हुन्न।’
अदालतका न्यायाधीशहरू कुनै प्राइभेट कम्पनीको न्यायाधीश नभएको भन्दै उनले प्रत्येक नागरिकले औंला ठड्याउन पाउने बताए।
बेइमान र अबुझ मानिसलाई नेता बनाएपछि मुलुकको अवस्था यस्तै हुने भन्दै उनले केपी ओली बेइमान र अबुझ दुवै भएको बताए।
ओलीले संविधानको भित्तो फोडेर चालेको कदमलाई सर्वोच्च अदालतले टाल्ने कि त्यसैलाई बाटो मान्ने भनेर जनताले नियालिरहेको उनको भनाइ छ।