धनगढी– भारतीय वनमा काठ काट्न प्रवेश गरेका कञ्चनपुर दोधाराचाँदनीका तीन जनामाथि भारतीय पक्षबाट गोली चलाइएको नेपाल प्रहरीले जनाएकाे छ।
नेपाल प्रहरीले गोली लागेका दोधाराचाँदनी नगरपालिका–१ का १७ वर्षीय नरेश सुनारसहित अन्य व्यक्तिसँग सोधपुछ गरेपछि यस्तो निष्कर्ष निकालेको हो।
भारतको गडिगोठमा सोमबार बेलुका नरेशसहित तीन युवा काठ काट्न गएका बेला गोली चलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए।
उनले भने, ‘सुनारसहितका युवा काठ काट्न गडिगोठ वन क्षेत्रमा प्रवेश गरेका बेला गोली चलाइएको पाएका छौं।’
भारतीय सीमा सुरक्षा बल एसएसबीले भने गोली नचालएको स्पष्ट पारिसकेको छ।
प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले भने, ‘वन रक्षकले गोली चलाएको अनुमान गरिएको छ तर पूर्ण विवरण आइसकेको छैन।’
सुनारले भने भारतीय बजार गौरीकोटबाट उपभोग्य सामान किनेर फर्कने क्रममा आफूमाथि गोली चलाइएको बताएका थिए।
प्रहरीले सुनारसँगै भारतीय वन क्षेत्रमा गएका दोधाराचाँदनी नगरपालिका–१ का २६ वर्षीय दीपक धामी र ३५ वर्षीय बब्लु चन्दले काठ काट्न आरासहित भारतीय वन क्षेत्रमा गएको बयान दिएका थिए।
भारतीय पक्षको गोली लागेर सुनार घाइते भएका थिए भने धामी र चन्द भाग्न सफल भएका थिए। तीनै जनासँग सोधपुछ गरेपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो।