काठमाडौं– राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले ओलीभन्दा पुष्पकमल दाहाल फार बेटर (धेरै राम्रो) मानिस भएको बताएका छन्।
जनता समाजवादी पार्टी नेपालले काठमाडौंमा आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘म प्रधानमन्त्री हुँदा दाहालजीसँग टक्कर भए पनि मित्रताको गाँठो पनि बाँधियो,’ उनले भने, ‘ओलीजी भन्दा उहाँ निकै राम्रो व्यक्ति हुनुहुन्छ।’
अध्यक्ष नेपालले दाहालसँग मिलेर नै आफूले सेना समायोजनलगायतका कामहरु सम्पन्न गर्न सफल भएको बताए।
उनले केपी शर्मा ओलीले प्रतिनिधिसभाको हत्या गर्न खोजेको बताए।
‘यसविरुद्ध सिंगो मुलुक र अन्तर्राष्ट्रिय जगत अहिले एकताबद्व बनेको छ,’ उनले भने, ‘हामीले सडकमा उत्रिएर पनि आफ्नो धारणा सार्वजनिक गरिसकेका छौं। अब दुविधा राख्नुपर्ने अवस्था छैन। म र अर्का अध्यक्ष दाहाल जहाँ छौं त्यही आधिकारिक नेकपा हो।’
उनले नेताहरुलाई नेकपाको आधिकारिकताबारे भ्रममा नपर्न पनि आग्रह गरे। ओली र उनीसँग भएका मानिसहरु एउटा गुट मात्रै भएको उनको टिप्पणी छ।
‘प्रधानमन्त्रीलाई लोकतन्त्र र गणतन्त्र नै मन परेको छैन। गणतन्त्र जन्माउनेलाई माया हुन्छ अरुलाई हुँदैन,’ उनले भने, ‘प्रधानमन्त्रीले सबै अधिकार आफ्नो नियन्त्रणमा राख्ने काम गरे। उनमा आफ्ना विरोधीहरुलाई एक एक गरेर सिध्याउने प्रवृत्ति छ।’