जनकपुरधाम– जनकपुरधाममा नेकपाको ओली समूहले शक्ति प्रदर्शन गरेको छ।
नेकपा ओली समूहले मंगलबार निकालेको जुलुसमा सयौं बालबालिकालाई सहभागी गराएको पाइएको छ।
बालबालिकाले नेकपाको झन्डा र सूर्य चुनाव चिह्न अंकित झण्डा बोकेर नारा लगाइरहेका थिए। विद्यालय जाने समयमा पार्टी विशेषको कार्यक्रममा बालबालिकाको प्रयोग हुनु दुःखद रहेको स्थानीय बासिन्दा बताउँछन्।
नेकपा दाहाल–नेपाल समूह, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राजावादीले पनि विरोध जुलुसमा बालबालिकालाई सहभागी गराउँदै आएका छन्। विरोध प्रदर्शनमा बालबालिकाको प्रयोग गर्नु बालअधिकार विरोधी क्रियाकलाप हो।
ओली समूहले जनकपुरधामको रेल्वे स्टेसनबाट निकालेको जुलुस नगरका विभिन्न भागको परिक्रमा गर्दै नेकपाको प्रादेशिक कार्यालयमा पुगेर कोणसभामा परिणत भएको छ।
दुई समूहबीच कार्यालयका लागि विवाद कायमै रहेका बेला ओली समूहले त्यहाँ सभा गर्न लागेको हो।
सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठ, नेता रघुवीर महासेठ लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि दाहाल–नेपाल समूहले सोही कार्यालयमा विभिन्न भेला तथा सभा गरिसकेको छ।
तत्कालीन एमालेको गीत घन्कियो
नेपालमा एमाले इतिहास भइसकेको छ। यद्यपि नेकपा ओली समूहको आजको जुलुसमा तत्कालीन एमालेको चुनावी गीत घन्किएको छ।
मंगलबार बिहान जनकपुरधाम आएकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोलाई स्वागत गर्न विमानस्थल पुगेका कार्यकर्ताले तत्कालीन एमालेको चुनावी गीत घन्काएका हुन्।
एमालेले यसअघि चुनावमा बनाएको गीतलाई त्यहाँ बजाइएको थियो। कार्यकर्ताहरु सोही गीत बजाउँदै मन्त्रीलाई स्वागत गर्नका लागि जनकपुरधाम विमानस्थल पुगेका थिए।